PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विश्वासको मत : एमालेको ‘पोजिसन’ कुर्दै जसपा अध्यक्ष महन्थ ठाकुर



कमलराज भट्ट

विश्वासको मत : एमालेको ‘पोजिसन’ कुर्दै जसपा अध्यक्ष महन्थ ठाकुर

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालले विश्वासका मतका सम्बन्धमा आधिकारिक निर्णय गरिसकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएका छन्।

अधिवेशन नजिकिँदै गर्दा जसपा भने मत दिने कि नदिने भन्ने अन्योलमा छ। जसपाभित्रको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष विश्वासको मत दिन नहुने पक्षमा छ भने महन्थ ठाकुर पक्ष दिने कि नदिने अन्योलमा छ। दुई धारबाट अगाडि बढिरहेको जसपाको एकीकृत निर्णय कहिले हुन्छ थाहा छैन। संसदीय दलको बैठक बस्ने छाँटकाँट अझै देखिएको छैन। केन्द्रीय कार्यकारिणी समितिको त झन टुंगो नै छैन। यस्तोमा एकीकृत निर्णय आउने सम्भावना कम छ। एकीकृत निर्णय नआए पूर्वराजपा र पूर्वसमाजवादीले आ-आफ्नो हिसाबले मत हाल्ने छन्।

जसपाले एकीकृत रुपमा भोट हाल्ने कि छुट्टाछुट्टै भन्ने फेरि एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीमै निर्भर छ। यो दुई कारणले हुने जसपाका नेताहरु बताउँछन्। पहिलो त एमालेको पोजिसन। दोस्रो मधेसका मुद्दा सम्बोधनको गति।

अहिले विश्वासको मतको पक्ष र विपक्षका लागि जसपामा दुबै पक्षले सांसदको हस्ताक्षर गरेका छन्। दुबैले आफूसँग बहुमत रहेको दाबी गरेका छन्। उपेन्द्र-बाबुराम समूहले कार्यकारिणी समितिमा बहुमत दाबी गरेको छ भने महन्थ समूहले संसदीय दलमा २२ सांसद आफ्नो पक्षमा रहेको दाबी गरेको छ। दुबैको हस्ताक्षरको होडबाजीबीच विश्वासको मतमा भने एमालेको पोजिसनले को कता लाग्ने निर्धारण गर्नेछ।

एमालेले दिनेछ बाटो

जसपालाई निर्णय लिन एमालेको समीकरणले पनि अन्योल पारेको छ। र एमालेमा लाइन क्लियर भएपछि जसपाले पनि बाटो पाउनेछ।

विश्वासको मतका लागि एमाले (१२१) एकीकृत भए ओलीलाई थप १५ मत आवश्यक पर्छ। जसपाको एक समूहलेमात्रै मत दिए पुग्छ। तर अहिले अवस्था फरक छ। माधव नेपाल समूह विद्रोही बनेर हिँडेको छ। कम्तीमा ३० सांसद भएको माधव समूहले समानुपातिकबाहेक २१ सांसदले सामूहिक राजीनामा दिने चर्चा छ। त्यतिमात्रै होइन ह्वीप उल्लंघन र फ्लोर क्रसको पनि चर्चा छ। यसो हुँदा पुरै जसपाले साथ दिँदा पनि विश्वासको मतका लागि आवश्यक संख्या पुग्दैन। त्यसमाथि उपेन्द्र यादव समूहले मत दिने सम्भावना नै हुँदैन।

तर विश्वासको मत लिने दिन नजिकिँदै गर्दा नेपाल समूहको दौडधुप बढेको छ। अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच सहमति हुने संकेत देखिएका छन्। अर्थात् एमाले एक ढिक्का भएर विश्वासको मत दिने अवस्था आउन सक्ने आशा पलाएको छ। यदि यसो भयो भने कमसेकम जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत पक्का दिनेछ। ओलीले सहजै विश्वासको मत पाउन सक्नेछन्। यहाँनेर जसपा दुई धारमा अगाडि बढ्ने अवस्था आउन सक्छ।

‘विश्वासको मतमा हाम्रो भूमिकाभन्दा पनि एमाले इन्ट्याक्ट रहन्छ भन्ने देखियो पछिल्लो गतिविधिले। माधव नेपाल समूहका नेताहरुको भनाई विश्वासको मत दिन्छौं भन्ने आएको छ,’ ठाकुर निकट नेता सुरेन्द्र झाले भने, ‘एमालेको पोजिसनले हाम्रो पनि लाइन क्लियर हुन्छ।’

झाका अनुसार अहिलेसम्म प्रधानमन्त्रीले विश्वासको मतबारे केही भनेका छैनन्।

‘उहाँले केही भन्नुभएको छैन,’ झाले भने, ‘तटस्थ बस् भन्नुहुन्छ कि मत चाहियो भन्नुहुन्छ अहिले थाहा छैन। नेकपा एमाले एकीकृत भयो भने मत चाहियो भन्नुहोला। एमाले अक्षुण्ण रहेन भने तटस्थ बस् भन्नुहोला। त्यसैले यो विषयमा अहिले छलफल भइनसकेको अवस्था छ।’

मुद्दा सम्बोधनले एकीकृत हुनसक्छ जसपा

जसपा नेताहरुका विश्वासको मत दिने सवालमा मधेसका मुद्दा सम्बोधनको गति अनुसार पार्टी एक हुनसक्छ। मधेसका तीन वटा मुख्य माग रेशम चौधरीसहितका राजबन्दीको झुठा मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक। मधेस, थरुहट आन्दोलनसँग सम्बन्धित करिब १२ सय जना बन्दी छन्। मधेसका १५ मुद्दा फिर्ता लिँदै १२० जनालाई रिहा गर्ने निर्णय गरेको छ। केही थप मुद्दा पनि फिर्ता लिएको छ। यसले एक हदसम्म विश्वासको वातावरण बनाए पनि जसपा नेताको आश अझै प्रधानमन्त्रीले केही गर्नुपर्ने छ।

‘एक/दुई दिन समय छ। प्रधानमन्त्रीजीले केही गर्नु भनेर लाग्नुभएको छ। केही काम सकाउनु पनि भएको छ। अझ केही कामहरु उहाँले गरिदिनुभयो भने हामी बहुमत सांसद सदस्य मत दिन्छौं,’ झाले भने।

झा मुद्दा सम्बोधन हुँदै गर्दा पार्टी एक ढिक्का भएर मतदान गर्ने अवस्था पनि आउनसक्ने आशा गर्छन्।

तर उपेन्द्र र बाबुराम समूहका नेता भने कुनै हालतमा पनि ओलीलाई विश्वासको मत दिन नसकिने बताउँछन्।

‘हामीसँग २२ सांसद छन्। प्रतिगामी ओलीलाई सत्ताबाट हटाउन हामी विपक्षमा भोट हाल्छौं। अबको निकास कांग्रेस-माओवादी-जसपा गठबन्धन सरकार नै हो,’ यादवनिकट एक सांसदले दावी गरे, ‘महन्थ ठाकुरले ओलीलाई भोट दिए पनि केही फरक पर्दैन। तर हामी कुनै हालतमा दिँदैनौं।’

ओलीलाई विश्वासको मत दिए ठाकुरको पतन सुरु हुने उनको चेतावनी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell