PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

स्थिति डरलाग्दो मोडतिर, मेयर नै भन्छन् : कोही मर्ला र आइसीयू पाइएला भन्ने अवस्था आयो



नेत्र तामाङ

स्थिति डरलाग्दो मोडतिर, मेयर नै भन्छन् : कोही मर्ला र आइसीयू पाइएला भन्ने अवस्था आयो

भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित तेलकोटका संक्रमित सिकिस्त बनेपछि मेयर सोमप्रसाद मिश्र शुक्रवार दिउँसोबाट आइसीयूको खोजीमा लागे। तर, कतै पाएनन्। राति भक्तपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित सिकिस्त बन्दै थिए। अस्पतालको आइसीयू बेड भरिएको थियो।

बेड भरिएपछि संक्रमितका आफन्तसामु अस्पतालका स्वास्थ्यकर्मीले हात उठाए - 'आइसीयू भए बचाउन सकिन्छ। यहाँ खाली छैन। अन्तै कतै लैजानु।'

अस्पतालले चाँडो आइसीयूसहितको बेड खोज्न भनेपछि मेयर मिश्र राति पुन दौडधुपमा लागे। तर, अहँ! उनले कतै पनि पाएनन् खाली आइसीयू।

'राति १२ बजेदेखि लगातार आइसीयू खोजी गरियो। धेरै अस्पताल र तिनका हाकिमहरुसँग जीवनको भिख मागियो। केही उपाय लागेन। अन्तत एक सहृदयी मित्र, समाजसेवीलाई बचाउन सकिएन,' उनले भने।

संक्रमणविरुद्ध भिडिरहेका जन प्रतिनिधिको यस्तो अभिव्यक्ति त्यतिखेर आएको छ जतिखेर प्रधानमन्त्री केपी शर्मा ओली सीएनएनसँग भनिरहेका छन् - नेपालको अवस्था नियन्त्रणमै छ, खराब छैन।

उपत्यकाकै जिल्ला हो भक्तपुर। त्यसमा पनि चाँगुनारायण नगरपालिका राजधानीसँग जोडिएको। आइसीयू होस् या अक्सिजन, राजधानीलाई सुविधा सम्पन्न मानिन्छ। सरकारले जनताको सेवाका लागि भनेर ट्रोल फ्रि नम्बरदेखि चिकित्सकहरु समेत सेवामा खटाएको छ। तर, उपत्यकाकै एक मेयरले जीवनको भिख माग्दा कतै पनि आइसीयू पाएनन्। त्यसपछि उनले आफ्ना नागरिक गुमाए।

यसरी आफ्नो नागरिक गुमाएका मेयर मिश्र यतिबेला आत्तिएका छन्।

'सरकारीमा बेडै छैन भन्छन्। निजीले अक्सिजन छैन भन्छन्। १० ठाउँ फोन गर्दा पनि कतैबाट शरण पाइएन,' निराश सुनिए मिश्र, 'केही प्राइभेट हस्पिटलले चाहिँ आइसीयू छ। तर, अक्सिजन छैन भन्ने कुरा गर्नुभयो। अब अक्सिजनबिना त बाँचिदैन नि।'

तीन दिनअघि अस्पतालमा भर्ना भएका थिए ती संक्रमित। अन्दाजी ५० वर्षका ती व्यक्ति सिकिस्त थिए। 'अस्पताल पुग्दा नै आइसीयू चाहिने खालको प्यासेन्ट हुनुहुन्थ्यो। हिजो भक्तपुर अस्पतालले हात उठायो। आइसीयू नभएकाले अन्तै लैजानु भनेर अस्पतालका स्वास्थ्यकर्मीले सुझाव दिनुभयो,' उनले भने। त्यही अनुसार प्रक्रिया चाले पनि उनले। तर, कतै लैजान सकेनन्। अक्सिजन मात्रै भए पनि लगाउने भनेर खोजे। तर, पाएनन्।

यसरी सबै कुरा थाह हुँदाहुँदै पनि आफ्नो नागरिक बचाउन नसिकएको उनले दुखेसो सुनाए। 'आइसीयू नपाए दुई घण्टाभित्र गाह्रो हुन्छ भन्ने कुरा थाहा हुँदाहुँदै बित्नुभयो,' उनले भने, 'अक्सिजन प्रशस्त उत्पादन भइरहेको सुनिन्छ। भक्तपुरमा अक्सिजन नपाएर हिजो पनि दुई जना बित्नुभयो। उत्पादन भइरहेको छ भन्छ। तर, खै हाहाकार छ अक्सिजन।'

पाँच दिन यता मेयर मिश्रलाई आइसीयूको खोजीका लागि लगातार फोन आइरहन्छ नगरवासीबाट। त्यसपछि उनी पनि आफूले सकेको प्रयास गर्छन्। तर, आइसीयू नपाएर पहिलोपटक मान्छे मरेपछि उनी आफैँ हतासिएका छन्।

'खै स्वास्थ्य मन्त्रालयको तथ्यांकमा आइसीयू यति छ, भेन्टिलेटर यति छ भन्ने आइरहन्छ। तर, कुनै अस्पतालले आइसीयू छ भन्दैन,' नगरप्रमुख मिश्रले भने।

हिजै उनले स्वास्थ्य मन्त्रालयले राखेको टोल फ्रि नम्बरमा पनि निकै प्रयास गरेछन्। त्यहाँबाट पनि सम्भव नभएको उनले सुनाए।

'स्वास्थ्य मन्त्रालयको पनि ११३३ मा फोन गर्नु। केही चाहियो आइसीयू चाहियो भने, भेन्टिलेटर चाहियो भने, एम्बुलेन्स चाहियो भनेर नम्बर छ। त्यो नम्बरमा जति गरे पनि कि चाहिँ बिजी हुने रहेछ। कि उठ्दो रहेनछ। मैले धेरै ट्राइ गरेँ,' उनले भने।

यस्तो बेलामा सरकार र जनता दुवैतिरबाट सजगता अपनाउनुपर्ने देख्छन् उनी। उसो त उनी आफै स्थानीय सरकारका प्रमुख। तर, आइसीयू बेड र आइसोलेसन् बेडसहितको अस्पताल आफ्नो बुताभित्र नपर्ने उनले जिकिर गरे। 'कोभिड संक्रमितका लागि भनेर हामी खटिएका छौं। सय बेडको आइसोलेसन बनाएका छौ। त्यहाँ पनि अक्सिजन प्रयोग गर्न दिन्छौं। एम्बुलेन्सदेखि चिकित्सक परामर्श सेवा सञ्चालनमा छ। तर, आइसीयू र भेन्टिलेटर हामीसँग हुँदैन। हाम्रो बुताले भ्याउँदैन नि,' उनले भने।

यस्तो बेला सरकाले अनुगमन बढाउनुपर्ने उनको सुझाव रह्यो। अस्पतालहरुले बेड लुकाएको भए त्यसको अनुगमनमा सरकार लाग्नुपर्ने उनको भनाई थियो।

'सरकारसँग साँच्चै अस्पतालहरुले आइसीयू हुँदाहुँदै, भेन्टिलेटर हुँदाहुँदै छैन भन्या हुन् भने सरकारले स्ट्रिक गर्नुपर्‍यो। प्राइभेट अस्पतालले शुल्क सरकाले तोकेको नमानेका हुन् कि के हो त्यो बुझ्नुपर्‍यो।'

कोरोना संक्रमण दिनहुँ बढेको उल्लेख गर्दै अहिले चाँगुनारायणमामात्र ३०० जना संक्रमित नाघेको बताए। दोस्रो लहरपछि कोरोनाका कारण ४ जनाको ज्यान गइसकेको छ। ७ जना अस्पतालमा उपचाररत रहेको र ५ जना आइसोलेनस सेन्टरमा रहेका छन् भने बाँकी होम आइसोलेसनमा।

संक्रमण तीव्रतर फैलिएको उल्लेख गर्दै उनले अस्पतालको इमर्जेन्सीमा संक्रमित पठाउन पनि 'कोही मर्ला र बेड खाली होला' भनेर कुर्नुपर्ने अवस्था आएको सुनाए। त्यसैले उनले जनतालाई पनि घरै बस्न समेत सुझाव दिए। 'आम मान्छेलाई छोएको छैन। बिहे गरिरहेका छन्। भोजमा गइरहेका छन्। चेतनाले छोएको छैन। हिजोमात्र मलाई तीन जनाको बिहेको निम्तो आयो। म गइनँ। यस्तो बेला बिहे नगर्नुसमेत भनेँ। चिया पसलमा त्यतिकै जम्मा भइरहेका छन्। यस्तो बेला अलि सचेत त बन्नुपर्‍यो नि,' उनले भने।

यतिबेला संक्रमित व्यक्तिको सतगतमा लागिपरेका उनले संक्रमणबाट जोगिन सबैलाई आग्रह गर्दै दोहोर्‍याए, 'यस्तै रहे एम्बुलेन्समा पठाए, बाटैमा मर्ने भए। एउटा अस्पतालले के भन्यो भने इमर्जेन्सीमा क्युमा बस्नुपर्छ रे! कोही मर्ला र बेड खाली होला भनेर कुर्नुपर्ने अवस्था आयो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell