PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'कोभिड-१९ नियन्त्रणमा!' भन्ने प्रधानमन्त्रीको दाबीलाई यसरी गिज्याइरहेछ तथ्यांकले



विधुर ढकाल

'कोभिड-१९ नियन्त्रणमा!' भन्ने प्रधानमन्त्रीको दाबीलाई यसरी गिज्याइरहेछ तथ्यांकले

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय मिडियासँगको अन्तर्वातामा 'नेपालमा कोभिड-१९ नियन्त्रणमा रहेको' बताउँदै प्रस्तुत गरेका विवरणलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले भने गिज्याइरहेको छ।

अस्पतालमा अक्सिजनको अभावमा विरामीहरु मर्न थालेका छन्। जनप्रतिनिधि नै अस्पतालमा बेड नपाएर एम्बुलेन्समै मरेका घटना सार्वजनिक भएका छन्। प्रधानमन्त्रीले भने सीएनएनलाई स्काइप मार्फत् अन्तर्वाता दिँदै स्थिति नियन्त्रणमा रहेको दाबी प्रस्तुत गरे।

शुक्रवारमात्र नेपालमा ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो। साथै ५० जनाको मृत्यु भएको थियो। संक्रमणले दैनिक रेकर्ड कायम गर्दा मृत्युदरले पनि उकालो लगाएको छ। सक्रिय संक्रमित पनि दिनहुँद हजारौँले बढिरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रवार अपराह्नको अद्यावधिक रिपोर्ट अनुसार हाल ७७ वटै जिल्लामा सक्रिय संक्रमित रहेका छन्। नेपालमा हालसम्म तीन लाख ७७ हजार ६०३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएकोमा हाल ७८ हजार ६२९ जनामा सक्रिय संक्रमित रहेका छन्। जुन कूल संक्रमितको २०.८ प्रतिशत हो।

त्यस्तै, हालसम्म नेपालमा तीन हजार ५७९ जना संक्रमितको मृत्यु भइसकेको छ। जुन कूल संक्रमितको ०.९ प्रतिशत हो। हालसम्म नेपालमा कुल संक्रमितको ७८.२ प्रतिशत संक्रमण मुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

कहाँ कति छन् सक्रिय संक्रमित?

 

तथ्यांक अनुसार ४४ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।  जसमध्ये १४ जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार भन्दा माथि छ।

कूल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ३४ हजार ६१ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जुन कूल सक्रिय संक्रमितको ४४ प्रतिशत हो।

सक्रिय संक्रमित मध्ये ३३ प्रतिशत काठमाडौं जिल्लामा मात्र छन्। काठमाडौं जिल्लामा शुक्रवारसम्मको तथ्यांक अनुसार २५ हजार ९४० सक्रिय संक्रमित छन्। त्यस्तै, ललितपुर जिल्लामा पाँच हजार ४२९ र भक्तपुर जिल्लामा तीन हजार २५२ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

काठमाडौंपछि बढी सक्रिय संक्रमित रुपन्देही जिल्लामा छन्। रुपन्देहीमा ६ हजार ४४८ सक्रिय संक्रमित हुँदा बाँके जिल्लामा ५ हजार २५४ सक्रिय संक्रमित छन्। एक हजार बढी सक्रिय संक्रमित हुनेमा उपत्यकाका तीन सहित वाग्मतीमा चितवन जिल्ला पनि छ। चितवनमा एक हजार ९७७ सक्रिय संक्रमित छन्।

प्रदेश १ मा सक्रिय संक्रमित एक हजार बढी भएका जिल्लामा झापा र मोरङ छन्। मोरङमा दुई हजार ३२४ सक्रिय संक्रमित छन्।

प्रदेश २ को पर्सा र धनुषामा एक हजार बढी सक्रिय संक्रमित छन्। त्यहाँ क्रमश: एक हजार ५२४ र एक हजार ८८ सक्रिय संक्रमित छन्। गण्डकी प्रदेशमा कास्की जिल्लामा दुई हजार ६०६ जना सक्रिय संक्रमित छन्।

त्यस्तै, लुम्बिनीमा रुपन्देही बाँकेसहित दाङमा पनि एक हजार बढी सक्रिय संक्रमित छन्। दाङमा दुई हजार ६२३ जना सक्रिय संक्रमित रहेको तथ्यांकमा उल्लेख छ। कर्णाली प्रदेशको सुर्खेतमा एक हजार ३४२ र सुदुर पश्चिम प्रदेशको कैलालीमा एक हजार ७३७ सक्रिय संक्रमित रहेको तथ्यांकले देखाउँछ।

सबैभन्दा कम सक्रिय संक्रमित रहेको जिल्ला मनाङ हो त्यहाँ १ जना सक्रिय संक्रमित छन्। त्यस्तै डोल्पामा ९ जना सक्रिय संक्रमित हुँदा २२ जिल्लामा मात्र एक सय भन्दा कम सक्रिय संक्रमित छन्।

उपत्यकामै १२१४ जनाको मृत्यु

हालसम्म काठमाडौं उत्यकाका तीन जिल्लामा मात्र एक हजार २१४ जना संक्रमितको मृत्यु भएको छ। जुन कूल मृत्युको ३३.९ प्रतिशत हो।

हालसम्म काठमाडौं जिल्लामा मात्र ८१४ जनाको मृत्यु भएको छ। त्यस्तै, ललितपुर जिल्लामा २३२ र भक्तपुर जिल्लामा १६८ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell