काठमाडौं : संसद सचिवालयले गराएको कोभिड १९ परीक्षणमा १ सय ६० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। वैशाख २२ देखि २४ गतेसम्म १ हजार २ सय ३५ जनाको परीक्षण गरिएको थियो।
राष्ट्रियसभाका एक जना सहित १९ जना सांसदमा कोरोना संक्रमण देखिएको हो। त्यसबाहेक १ सय ४१ जना चाहिँ संसद सचिवालयका कर्मचारी, मर्यादा पालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीमा संक्रमण देखिएको हो।
२ सय ५ जना सांसद र कर्मचारी तथा अन्य गरी १ हजार ३० जनाको पीसीआर परीक्षण गरिएको थियो।
यस बाहेक अन्य ८ जना सांसद संक्रमित छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते संसदमा विश्वासको मत लिने कार्यसूची छ। विश्वासको मतकै लागि संसद बैठक डाकिएको हो। त्यसैका लागि सचिवालयले पीसीआर परीक्षण गराएको हो।
