PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

कोभिड-१९ संक्रमितको उपचारमा मनपरी शुल्क लिनेलाई कारवाही गर्न अखिल (क्रान्तिकारी)को माग, अन्यथा आफै कारवाही गर्ने चेतावनी



पहिलोपोस्ट

कोभिड-१९ संक्रमितको उपचारमा मनपरी शुल्क लिनेलाई कारवाही गर्न अखिल (क्रान्तिकारी)को माग, अन्यथा आफै कारवाही गर्ने चेतावनी

काठमाडौं : कोभिड-१९ को संक्रमण बढ्दै जाँदा संक्रमितबाट चर्को शुल्क असुल्ने अस्पताल माथि छानविन गरी कारवाही गर्न अखिल (क्रान्तिकारी)ले माग गरेको छ। मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले वक्तव्य जारी गर्दै कोभिड-१९ संक्रमित माथि मनपरी ढंगले सुल्क असुल्ने अस्पताललाई कारवाही गर्न माग गरेका हुन्। 

'अहिले कोभिड-१९ को दोस्रो लहरले जनता आक्रान्त बन्दै गइरहेको अवस्थामा कमिशनको खेलका कारण कोभिड-१९ को खोप आउन नसक्नुमा नेपाल सरकार नेपाली जनताको स्वास्थ्यप्रति जवाफदेही नभएको कुरा छर्लङ्ग छ,' वक्तव्यमा भनिएको छ, 'आज शिक्षा र स्वास्थ्य क्षेत्र माफियाहरुको कब्जामा छ। स्वास्थ्य माफियाहरुलाई संरक्षण गर्नुका साथै स्वयं सरकार नै माफियाको जालोमा फस्न पुग्नु र ती माफियाहरुको नेतृत्वसमेत सरकारले गरिरहेको कुरा सरकारका पछिल्ला गतिविधिहरुबाट प्रष्ट हुन्छ।'

अक्सिजन, आईसीयू वेड र भेन्टिलेटरको अभावले भयावह बनेको अवस्थामा सरकारले सबै कोभिड बिरामीहरुको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न पनि क्रान्तिकारीले माग गरेको छ। 'आम जनतालाई निःशुल्क खोपको व्यवस्था गर्नुपर्नेमा खोपको मूल्यमा चार गुणा बढी शुल्क उठाउन पाउने गरी हुकमजस्ता कम्पनीलाई स्वास्थ्य सेवा विभागबाट अनुमति दिनुले स्वास्थ्य क्षेत्रमा पूर्णरुपमा माफियाकरण हाबी भएको कुरा प्रष्ट हुन्छ,' जारी वक्तव्यमा भनिएको छ, 'कोभिड-१९ का बिरामीहरुलाई निःशुल्क परीक्षण र उपचार गर्न र आम जनतालाई अविलम्ब कोभिड-१९ को खोप निःशुल्क व्यवस्था गर्न, मनपरी ढंगले कोभिड-१९ लगायत अन्य बिरामीहरुबाट शुल्क असुल्ने मेडिकल कलेज र अस्पतालहरुलाई छानविन गरी हदैसम्मको कारवाही गर्न र हुकमलगायत निजी कम्पनीलाई खोप ल्याउन दिइएको अनुमति रद्द गरी सरकार आफैले खोप ल्याई आम नेपाली जनतालाई खोप लगाउने वातावरण तयार गर्न हार्दिक अनुरोध गर्दछौं । साथै, स्वास्थ्य माफियाहरुलाई अविलम्ब कारवाही गर्नसमेत अपिल गर्दछौँ।' 

क्रान्तिकारीले सरकारले कारवाही नगरे आफूहरुले गरवाही गर्ने चेतावनीसमेत दिएको छ। 'जनताप्रति गैरजिम्मेवार नेपाल सरकारविरुद्ध सशक्त संघर्षमा उत्रने र स्वास्थ्य माफियाहरुलाई कारवाही गर्ने चेतावनीसमेत दिन चाहन्छौँ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell