लीलाराम तिवारीको श्रीमतीलाई एक हप्ताअघि कोरोना संक्रमण देखियो। काठमाडौंमा संक्रमणको 'चेन ब्रेक' गर्न भन्दै प्रशासनले निषेधाज्ञा लागू गरेको थियो। संक्रमित श्रीमतीलाई गाह्रो भएपछि तिवारीले महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल लगे।
जब अस्पताल पुगे आफूले सोचेको जस्तो अवस्था पाएनन्। संक्रमितले भरिँदा अस्पतालका बेड खाली थिएनन्। अस्पतालभित्र बेड नपाएपछि परिसरमै बेड राखेर श्रीमतीको उपचार गरे। आवश्यक अक्सिजन र औषधिको व्यवस्था गरे।
भन्छन्, 'भर्ना भएको एक हप्ता भयो। सुरुमा कठिन नै भयो। बाहिर राखेर बेडमा उपचार भयो। अक्सिजन दिइयो। पछि बल्ला बेड पाइयो भित्र।'
बेड त पाइयो तर डाक्टरले लेखेको औषधि भने पाउन निकै गाह्रो भएको उनी सुनाउँछन्। रेडमिसिभिर औषधि पहिला दुई डोज किनेर ल्याए पनि हाल पाउन निकै गाह्रो भएको उनले बताए। 'ब्ल्याक'मा औषधि पाउने सुने पनि आफूहरुले त्यसरी औषधि किन्न नसक्ने उनी बताउँछन्।
तिवारीले एक हप्ताको प्रयासपछि अस्पतालभित्रै बेड त पाए। तर शिक्षण अस्पताल पुग्ने सबैलाई त्यसो सुविधा छैन। हाल टिचिङ अस्पतालमा संक्रमितको संख्या बढ्दो छ। त्यसैले अस्पतालमा बेड पाउन निकै कठिन छ।
बेड नहुँदा कतिपय बिरामी फर्किनु परेको छ। कतिपय संक्रमितको भने अस्पताल क्षेत्रमा नै बेडहरु राखेर उपचार भइरहेको छ। अस्पताल भवन बाहिर नै संक्रमित अक्सिजन सर्पोर्टमा बसिरहेका छन्। आफन्तहरु अक्सिजन र औषधिको जोहो गर्न लागिरहेको देख्न सकिन्छ।
काठमाडौंको सबैभन्दा ठूलो अस्पताल भए पनि हाल संक्रमितको संख्या बढेसँगै शिक्षण अस्पतालले सबैलाई बेड व्यवस्था गर्न सकिरहेको छैन। शिक्षण अस्पतालमात्रै होइन अन्य सरकारी र निजी अस्पतालहरुमा समेत बेडको अभाव छ। कतै अक्सिजनको अभाव हुँदा संक्रमितकै ज्यान गएको छ।