काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा ललितपुर सिटीले विराटनगर सिटीमाथि सहज जित निकाल्दै प्लेअफका लागि क्वालिफाई भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न तनावपूर्ण खेलमा विराटनगरलाई ४-० गोलअन्तरले हराउँदै ललितपुरले प्लेअफको यात्रा सुनिश्चित गरेको हो।
खेलमा अग्रता ललितपुरले ३६ औं मिनेटमा अञ्जन बिस्टको गोलमा गरेको थियो। त्यस्तै, विराटनगरका सर्वाधिक गोलकर्ता पेड्रो माञ्जीले लगातार हेण्डबलको अपिल गरेपछि पहेँलो कार्ड खाएका थिए।
पहिलो हाफमा एक गोलले अघि रहेको ललितपुरका लागि दोस्रो हाफमा विमल रानाले गोल थपे। उनले खेलको ६३ औं मिनेटमा गोल गरेका थिए। त्यसपछि खेलमा तनावको स्थिति उत्पन्न भएको थियो। विराटनगरका अफिसियलहरु झगडामै उत्रिएका थिए भने खेलाडीहरुलाई पनि मैदानबाहिर बोलाएका थिए।
पेड्रो माञ्जीलाई छाडेर अन्य विराटनगरका खेलाडीहरु मैदान बाहिर गएका थिए। झगडा साम्य पार्न एनएसएलका आयोजकहरु त्यहाँ पुगेका थिए। त्यसको केहीबेरमा खेल सुरु त भयो तर खेल सुरु हुनसाथ विराटनगरले फ्रिकिक जित्यो त्यसमा ललितपुरका खेलाडी असन्तुष्ट हुँदै रेफ्रीसँग अपिल गरे।
तर, खेलाडी खेलाडीबीच पनि केहीवेर तनावको स्थिति केहीबेर रह्यो। त्यस्तै खेलको ८५ औं मिनेटमा कप्तान रञ्जित धिमालको स्थानमा मैदान प्रवेश गरेका विजय धिमाल दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि विराटनगर १० खेलाडीमा सीमित भएको थियो।
ललितपुरका लागि तेस्रो गोल अन्जन विष्टले खेलको ८१ औं मिनेटमा गोल थपे भने नुर्लान नोब्रुजोभ अतिरिक्त समयमा गोल थप्दा खेल ललितपुरले आफ्नो पक्षमा पार्यो।
आजै हुने दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र धनगढी एफसी भिड्दै छन्। यो खेलले प्लेअफमा पुग्ने चौथो टिमको टुंगो लगाउने छ। प्लेअफका लागि चौथो टोलीका रुपमा बुटवल लुम्बिनी र पोखरा थण्डर्स प्रतिस्पर्धामा छन्।
खेलपछि अन्जन विष्टले भने, ‘धेरै खुशी छु। केही बोल्न सकिरहेको छैन। अघिल्लो खेलको जितले धेरै मोटिभेट गरेको छ। सबैले १०० प्रतिशतभन्दा धेरै दियो।’
