काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। शनिबार संसद् भवन बानेश्वरमा बसेको संसदीय दलको बैठकले विश्वासको मत नदिने र अन्य दलहरुलाई समेत मत नदिन आग्रह गर्ने निर्णय गरेको हो।
वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेगरि प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान भइसकेको छ।
बैठकले अविश्वासको प्रस्तावबारे भने ठोस निर्णय नगरेको एक सांसदले बताए।
बैठकमा सभापति शेरबहादुर देउवाले भने माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेकै माधव नेपाल समूहसँग अविश्वासको प्रस्तावबारे छलफल भइरहेको पनि बताएका थिए। देउवाले विश्वासको मत असफल बनाएर आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनेबारे पनि छलफल भइरहेको जानकारी सांसदहरुलाई गराए।
यस्तै, उनले विश्वासको मत नपाएपछि देउवाले लुम्बिनी प्रदेशकै शैलीमा पुनः प्रधानमन्त्री बन्ने र प्रतिनिधि सभा विघटन गर्नसक्ने आशंका पनि बैठकमा सुनाए। ओलीको कमदलाई निस्तेज पार्न आफूहरु अश्विासको प्रस्तावको पक्षमा छलफल गरिरहेको पनि देउवाले सांसदहरुलाई जानकारी दिए।
विश्वासको मत विफल भएमा लुम्बिनीमा जसरी नै प्रधानमन्त्री हुने ओलीको चाहना छ। त्यसो हुनुहुन्न भनेर हामी अन्य पार्टीसँग अविश्वासको प्रस्तावबारे छलफल गरिरहेका छौं’, देउवाको भनाई उद्रृत गर्दै एक सांसदले भने।
विश्वासको मतको विषयलाई लिएर नेकपा (एमाले) मा पनि विभिन्न चरणमा असन्तुष्ट पक्षसँग छलफल भइरहेको छ। तर, परिणाम निस्कन सकेको छैन।
