जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले आफूले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका छन्।
कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको समयमा संक्रमितहरु एम्बुलेन्स नपाएर अस्पताल पुग्न नसक्दा ज्यान गुमाइरहेको अवस्थालाई दृष्टिगत गर्दै मेयर बरबरियाले आफ्नो गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका हुन्।
भारतसँग सीमा जोडिएकाले धनुषाका ग्रामिण भेगमा पनि संक्रमित हुनेको संख्या बढ्न थालेको र संक्रमितले अस्पताल जान एम्बुलेन्स नपाइरहेको समयमा आफूले प्रयोग गरिरहेको प्रदेश-२ ०२ ००१ झ ०००१ नम्बरको सरकारी गाडी नगरभित्रका संक्रमितलाई अस्पतालसम्म र अस्पतालबाट घरसम्म पुर्याउनका लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गरेको प्रमुख बरबरियाले बताए।
उनले एम्बुलेन्सको आवश्यक परेमा आफ्नो मोबाइल अथवा गाडी चालकको मोबाइलमा फोन गर्न नगरबासीसँग आग्रह गरेका छन्। प्रमुख बरबरियाले आफूसँग सम्पर्क गर्न ९८५४०२९७६९ र चालकको सम्पर्क नम्बर ९८०४८०५४०९ सार्वजनिक गरेका छन्।
शहीदनगर नगरपालिकामा अरु दुई वटा एम्बुलेन्स समेत उपलब्ध रहेको प्रमुख बरबरियाले बताए।

