PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अविश्वासको प्रस्ताव र सामूहिक राजीनामा एक साथ अघि बढ्दा बालुवाटारमा ओली के को गर्दैछन् तयारी?



प्रकाश भण्डारी

अविश्वासको प्रस्ताव र सामूहिक राजीनामा एक साथ अघि बढ्दा बालुवाटारमा ओली के को गर्दैछन् तयारी?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चाले सामूहिक राजीनामा र अविश्वासको प्रस्ताव एक साथ अगाडि बढाउने भएको छ। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले एक साथ राजीनामाको तयारी गरेका छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविश्वासको प्रस्ताव दर्ताको अन्तिम तयारी गरेका हुन्।

माओवादी केन्द्रका नेताहरुका अनुसार अविश्वासको प्रस्तावका लागि देउवाले प्रचण्ड र नेपाललाई संसदको अंकगणितमा आश्वस्त पार्न आग्रह गरेका थिए। देउवा अविश्वासका लागि तयार हुँदा आज या भोलि अविश्वासको प्रस्ताव दर्ता हुने माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साहले बताए।

'हाम्रो तर्फबाट अविश्वासको तयारीमा कुनै कमी भएको छैन। तर, देउवाले अब कतिको इनिसियसन लिनुहुन्छ। देउवा अहिले ओली विरुद्ध त तयार हुनुभएको छ। तर, अब उहाँ भित्रैदेखि कतिको लाग्नुहुन्छ। आज या भोलिमा अविश्वासको प्रस्ताव दर्ता हुने सम्भावना छ,' उनले भने।

ओलीले फेरि पनि सत्ता जोगाउन कुनै न कुनै तयारी गरेको भन्दै माओवादी र कांग्रेसका नेताहरुले सोमवारको संसद बैठक अघि नै ओलीले अर्को कदम चाल्नसक्ने भन्दै आशंका व्यक्त गरिरहेका छन्।

'राष्ट्रपति ओलीको दाहिने हुनुहुन्छ। सायद उहाँले यसपटक पनि स्वास्थ्य संकटकाल या अरु कुनै कदमको तयारी गरिरहनुभएको होला। कोभिडका कारण जनता सडकमा आउँदैन भनेर ओलीले कदम चाल्न सक्छन्,' माओवादी केन्द्रका एक नेताले भने।

ओलीले के गर्दै छन्?

विश्वासको मत लिने दिन नजिकिएसँगै ओलीले आफ्नो समूहभित्र छफल तीब्र पारेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीको समेत सहयोगमा ओलीले नेपाल समूहलाई मिलाउने प्रयत्न गरेको भए पनि सफल भने भएनन्।

नेपाल समूहलाई फकाउने र तर्साउने रणनीति एक साथ अघि बढाइरहेका ओलीले बिहीवार र शुक्रवार नेपाल समूहका नेताहरुसँग संवाद गरेका थिए। उक्त संवादमा ओली समूहका नेताहरुले मध्यमार्गी बाटो अपनाएर भए पनि एमाले जोगाउने उपाय निकाल्ने रणनीति बनाएका थिए। तर, ओली भने आफ्नो अडानबाट पछि नहटेको भेटमा सहभागि नेताले बताएका छन्।

ओली निकट एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले विभिन्न तहमा संवाद भए पनि निष्कर्ष ननिस्किँदा पार्टीको विवाद कायमै रहेको बताए।

'संवाद त यति धेरै भइरहेको छ। तर, कुनै सहमति भएको छैन। त्यसले अहिले नै के हुन्छ भन्न सकिँदैन,' उनले भने। ओलीले आइतवार बालुवाटारमा बोलाएको संवैधानिक परिषदको बैठकमा पनि राजनीतिक रुपमा कित्ताकाटको अवस्था देखिएको छ। नेपाली कांग्रेसका सभापति देउवा र सभामुख अग्नि सापकोटाले बैठक बहिस्कार गरेका छन्।

सोमवारको प्रतिनिधिसभाको बैठक अघि नै राजनीतिक रुपमा धुब्रीकरण बढिरहेको भए पनि ओली समूहका नेता तथा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भोटिङमा एमालेका सांसद एक ढिक्का भएर मत हाल्ने दाबी गरेका छन्।

'सामूहिक राजीनामा भन्ने सब हावादारी कुरा हुन्। १ सय २१ जनाले नै मत हाल्नुहुन्छ। विश्वासको मत लिएर ढुक्क दुई वर्ष सरकार चलाउने हो,' भट्टराईले भने। तर, विश्वासको मत प्राप्त भएन भने राजनीतिले नयाँ कोर्स लिने उनको भनाई छ।

'विश्वासको मत आएन भने के हुन्छ अहिले भन्न सकिन्न। तर नयाँ कोर्स चाहिँ सुरु हुन्छ,' उनले भने।

ओली निकट नेताहरु विश्वासको मत प्राप्त नभएको अवस्थामा पनि संविधान अनुसार राष्ट्रपतिले ओलीलाई नै ठूलो दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त गर्ने र विपक्षीले नयाँ सरकारको विकल्प दिन नसक्ने भएकाले बाँकी कार्यकाल पनि ओली नै सरकारको नेतृत्वमा रहने दावी गरिरहेका छन्। भट्टराईले पनि प्रतिनिधिसभाको बाँकी कार्यकाल ओली नै प्रधानमन्त्री हुने बताए।

अविश्वास र राजीनामा एकसाथ

माओवादी केन्द्रका नेताहरुले ओली विरुद्धको मोर्चा झनै बलियो बनिसकेको बताएका छन्। राष्ट्रिय सभाको उप-निर्वाचनमा समेत ओली र ओली इतर समूह बनेकाले त्यसले अब राष्ट्रिय राजनीतिलाई पनि गति दिने माओवादीको दाबी छ।

'हेर्नुस अहिले उप-निर्वाचनमा पनि ओली एक ठाउँमा र बाँकी सबै एक ठाउँमा देखिएको छ। यो अवस्था आउने चुनावमा पनि देखिन्छ। त्यसैले अब ओलीबिरुद्धको मोर्चा झनै बलियो भएको छ,' प्रचण्ड निकट एक नेताले भने। उनका अनुसार मोर्चा बनेकै कारण एमालेको माधव नेपाल समूहले सामूहिक राजीनामा दिन लागेको हो। त्यसका लागि नेपालले अविश्वासको प्रस्तावमा बहुमत पुर्‍याउने प्रचण्ड र देउवालाई वचन दिएका छन्। देउवाले नेपाल समूहको सामूहिक राजीनामा कुरिरहेको नेताहरुको दाबी छ। सामूहिक राजीनामा र अविश्वासको प्रस्ताव एक साथ अगाडि बढ्ने माओवादी केन्द्रका नेता साहले बताए। 'सामूहिक राजीनामा हुनेवित्तिकै अविश्वासको प्रस्ताव अघि बढिहाल्छ,' उनले भने।

'ओलीले मानेन् त्यही भएर राजीनामा'

नेपाल समूहका सांसद जीवनराम श्रेष्ठले आफूहरुको पक्षमा रहेका सबै सांसदले एक साथ राजीनामा दिने बताए। त्यसका लागि नेपाल समूह आइतवार पनि संवादमा जुटेको छ। राजीनामा राम्रो विकल्प नभए पनि बाध्यता स्वरुप सामूहिक राजीनामा दिने उनले बताए।

'अब सबैले राजीनामा दिने हो। ओलीले मानेनन् त्यसैले राजीनामा हुन्छ। यो राम्रो होइन हामीलाई पनि थाहा छ,' उनले भने। राजीनामाका लागि हस्ताक्षर समेत भइसकेको उनको भनाइ छ। प्रतिनिधिसभाको बैठक अघि नै राजीनामा बुझाउने नेपाल समूहले तयारी थालेको हो।

नेपाल समूहका केही नेताहरुले ओलीलाई नै विश्वासको मत दिनुपर्ने भन्दै सहमतिको वातरण बनाउन पहल गरेका थिए। हाल उनीहरुले समेत राजीनामाको तयारी गरेका छन्। यससँगै एमाले एकता र ओलीको सत्ता यात्रा धर्मराउने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell