काठमाडौं : नेपाली फिल्म ‘महानगर’ अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छनोट भएको छ। फिल्मका क्रिएटिभ प्रोड्युसर नवनिधि दाहालका अनुसार सोही फेस्टिभलमार्फत् फिल्मको अमेरिका प्रिमियर हुन लागेको हो।
मोहन राई निर्देशित फिल्म भारतको कोलकाता फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भएको थियो। त्यहाँ एसियन सेलेक्टअन्तर्गत दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा (नेटप्याक) अवार्डका लागि प्रतिस्पर्धात्मक विधामा छानिएको थियो।
फिल्मले विश्वका ९३ देशबाट सहभागिताका लागि आएका २५ सय फिल्मबाट फेस्टिभलमा ठाउँ बनाएको हो। यो फेस्टिभलको २४ औं संस्करण हो। फेस्टिभल मे २८ देखि सुरु भएर जुन ६ सम्म चल्नेछ।
कर्मा र मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्मले एक रातको कथा भन्छ। सानो घटनाका कारण सँगै रात गुजार्न बाध्य उनीहरुको जीवनमा त्यही रातले ल्याउने परिवर्तन फिल्मको कथा हो।
फिल्ममा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे आदि कलाकार पनि अभिनय रहेको छ।
निर्देशक मोहन राई स्वयंको लेखन रहेको यो फिल्मको कार्यकारी निर्मातामा गोविन्द पराजुली तथा क्रिएटिभ निर्माता नवनिधि दाहाल रहेका छन्। फिल्ममा नरेन्द्र मैनालीको छायांकन, संगम पन्थीको संगीत र परीक्षित झाको सम्पादन छ।
ब्रुकलिन फिल्म फेस्टिभलमा यसअघि दुई नेपाली फिल्मले सहभागिता जनाइसकेका छन्। सन् २००९ मा ‘सारी सोल्जर्स’ यो फेस्टिभलमा छनोट भएको थियो भने सन् २०१७ मा सुनिल पाण्डे निर्देशित सर्ट फिल्म ‘अनन्त यात्रा’ पनि यहाँ छनोट भएको थियो।
