काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार लिन लागेको विश्वासको मतमा जनता समाजवादी पार्टी (जसपा)ले पनि नसघाउने भएको छ।
जसपाले प्रधानमन्त्री ओलीको पक्षमा मतदान नगर्ने भएको हो। जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो ओलीको पक्षमा उभिदै आएको भए पनि आइतवार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेरै उनीहरु दुवैले विश्वासको मत दिन नसक्ने बताएका छन्।
ओली समूहका एक नेताका अनुसार उनीहरुले विश्वासको मत दिने वातावरण नबनेकाले तटस्थ बस्ने बताएका थिए। जवाफमा प्रधानमन्त्री ओलीले रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिन कानुनी समस्या भएको बताएका थिए।
'विश्वासको मत दिन सक्दिन भन्नुभएको छ। प्रधानमन्त्रीले माग पूरा हुन्छ भन्नुभयो। तर, मुद्दा फिर्तामा कानुनी समस्या रहेको कुरा जानकारी गराउनुभयो,' उनले भने। ठाकुर र महतोले आजै बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए।
जसपाकै अर्का समूह अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई प्रतिनिधिसभा विघटनदेखि नै ओलीको विपक्षमा उभिँदै आएका थिए। जसपाले विश्वासको मत नदिने बताएसँगै अब ओली अल्पमतमा पर्ने निश्चित भएको छ।
हाल नेकपा एमालेसँग १ सय २१ जना सांसद छन्। सरकार बनाउनका लागि १ सय ३६ जना आवश्यक पर्ने भएकाले ओली अल्पमतमा पर्ने निश्चित भएको हो। एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल समूह ओलीको विपक्षमा उभिँदै आएको छ। नेपाल समूहले सामूहिक राजीनामाको तयारी गरेको छ।