काठमाडौं : जनता समाजवादी पार्टीका नेताहरुले आन्तरिक छलफल तीब्र पारेका छन्।
आइतवार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले भेटेका थिए। त्यसपछि पार्टीमा आन्तरिक छलफल पनि तीब्र पारेका हुन्।
सोमवार प्रतिनिधिसभामा हुने विश्वासको मतदानमा पार्टीको रणनीतिबारे जसपाका पदाधिकारी छलफलमा जुट्न लागेको केन्द्रीय कार्यकारीणी सदस्य महम्मोद इस्तियाक राईले जानकारी दिए। पदाधिकारिको बैठक संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको निवासमा बस्न लागेको हो। बैठक अहिले २ बजेका लागि बोलाइएको छ।
जसपाका शीर्ष ६ नेता उक्त बैठकमा सहभागी हुनेछन्। अध्यक्षहरु महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई तथा वरिष्ठ नेताहरु राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ छलफलमा सहभागी हुनेछन्। बैठकले कुनै निर्णय नगरे पनि आन्तरिक राजनीतिक सहमति गर्ने जसपाका नेताहरुले बताएका छन्। पदाधिकारीको बैठकले गरेको सहमतिलाई केन्द्रीय कार्यकारिणी समितिले निर्णय गर्ने जसपाका नेताहरुको भनाई छ।
जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोले ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने बताएका छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीको विपक्षमा उभिँदै आएका छन्। ओलीको समर्थन र विरोधी खेमामा विभाजित भएपछि जसपा फुटको अवस्थामा पुगेको थियो। प्रदेशमा समेत जसपा राजनीतिक रुपमा विभाजित देखिएको थियो।