PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

देउवाको दैलोदेखि बालुवाटार हुँदै बाबुरामको निवासमा पुगेर क्लियर हुँदै जसपाको कित्ता



कमलराज भट्ट

देउवाको दैलोदेखि बालुवाटार हुँदै बाबुरामको निवासमा पुगेर क्लियर हुँदै जसपाको कित्ता

काठमाडौं : वर्तमान सत्ता समीकरणमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) नेपाल अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निष्कर्षमा पुगेको छ। यसको किनारा भने संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको निवास टोखाबाट लाग्दैछ। जसपाले पक्ष र विपक्षमा मत नदिई तटस्थ बस्ने निष्कर्ष निकालेको हो।

प्रधानमन्त्री ओलीले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्। यसको पूर्व सन्ध्यामा जसपाका नेताहरुको दौडधुप बुढानीलकण्ठदेखि बालुवाटारसम्म रह्यो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपाका नेताहरुलाई विश्वासको मतमा उनीहरुको पोजिसन बुझ्न आफ्नो निवासमा आमन्त्रण गरे। देउवाले बोलाएपछि आज बिहान ९ बजे अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बुढानीलकण्ठ पुगे। देउवालाई जसपाको पोजिसन सुनाउँदै तीन वटा सन्देश दिए। पहिलो, जसपा तटस्थ बस्छ। दोस्रो, वैकल्पिक सरकार निर्माण हुने अवस्था छैन। तेस्रो भनेको निर्वाचनको विकल्प छैन। देउवालाई आफ्नो लाइन क्लियर गर्दागर्दै महन्थ र राजेन्द्रलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा आमन्त्रण गरे।

देउवा भेटेर महन्थ र राजेन्द्रसहितका नेताहरु बालुवाटार पुगे। बालुवाटार पनि दुवै नेताले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने र तटस्थ बस्ने निर्णय सुनाए। प्रधानमन्त्री ओलीले सके विश्‍वासको मत दिन र नसके तटस्थ बसिदिन आग्रह गरेका थिए। तटस्थ बस्ने निर्णय सुनाएर महन्थ र राजेन्द्र बालुवाटारबाट बाहिरिए। प्रधानमन्त्रीसँगको भेटमा मधेश मुद्दा सम्बोधनमा थप प्रगतिबारे पनि चर्चा भएको थियो।

महन्थ र राजेन्द्रसहितको बहुमतले तटस्थ बस्ने निष्कर्ष निकाले पनि यसलाई अन्तिम रुप दिन बाँकी छ। अर्थात् पार्टीको संस्थागत निर्णय आउन बाँकी छ। संस्थागत निर्णयको टुंगो भने अध्यक्ष भट्टराई निवासमा लाग्दैछ।

जसपा नेता सुरेन्द्र झाले अहिले २ बजे अध्यक्ष भट्टराईको स्वास्थ्य अवस्था बुझ्न पार्टी पदाधिकारीहरु उनको निवास टोखा जाने र त्यहीँ अनौपचारिक छलफल हुने बताए। पेटको न्युरो-इन्डोक्राइन ट्यूमरको शल्यक्रिया गरेका अध्यक्ष भट्टराई घरमै आराम गरिरहेका छन्। बाबुरामको निवासमा अध्यक्ष ठाकुर, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ जानेछन्। यहीँ अनौपचारिक छलफलले जसपाको भोलिको अन्तिम लाइन किनारा लगाउनेछ।

यादव निकट नेता इस्तियाक राईले टोखामा सोमवार प्रतिनिधिसभामा हुने विश्वासको मतदानमा पार्टीको रणनीति टुंगो लाग्ने बताए।

महतोनिकट नेता मनिष सुमनले कुनै पक्षसँग पनि समदुरी नराख्ने गरी तटस्थ बस्ने प्रयास भइरहेको बताए। उनका अनुसार तटस्थ रहने विषयमा पार्टीभित्र सहमति जुट्ने अपेक्षा गरिएको छ। उपेन्द्र र बाबुराम सहमत नभए बहुमत सदस्यको निर्णय तटस्थ हुने ठाकुर निकट नेता झा बताउँछन्।

तर, तटस्थ हुनु ओलीलाई विश्वासको मत नदिने र यसमा उपेन्द्र र बाबुरामको पनि सहमति हुने बताइएको छ। किनभने उनीहरु पनि ओलीलाई विश्वासको मत दिन नहुने र विपक्षमा मत हाल्ने पक्षमा छन्। तटस्थ बस्दा पार्टीमा महन्थ-राजेन्द्र र उपेन्द्र-बाबुराम बिच 'विन विन सिच्वेसन' हुने भएकाले यो विकल्पमा सहमति जुट्ने दुवै पक्षको विश्वास छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell