PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोभिड व्यवस्थापनमा प्रदेश नम्बर १ को सरकार 'नालायक' भएको काँग्रेसको आरोप



अनन्तराज न्यौपाने

कोभिड व्यवस्थापनमा प्रदेश नम्बर १ को सरकार 'नालायक' भएको काँग्रेसको आरोप

विराटनगरः प्रदेश नम्बर १ मा नेपाली काँग्रेसले संसदीय दलले प्रदेशभरिका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र लगायतका निजी अस्पताललाई तत्काल कोभिड अस्पतालमा रूपान्तर गरेर उपचार गराउन माग गरेको छ।

संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले आइतबार पत्रकार सम्मेलन गर्दै तत्काल उपचारका लागि जोड दिएका हुन्। कार्कीले कोभिड नियन्त्रणका सवालमा प्रदेश सरकार नालायक सिद्ध भएको आरोप समेत लगाएका छन्।

‘प्रदेश सरकारले विराटनगरस्थित नेसनल ट्रेडिङको भवनमा एक वर्षअगाडि तयार गरेको ८० शय्याको भेन्टिलेटरसहितको कोभिड अस्पताललाई यस पटक मर्मतका नाममा थन्क्याइएको छ’, उनको प्रश्न थियो, ‘एक वर्षमै पुराना हुने र मर्मत गर्न यत्रो समय लाग्ने कस्ता गुणस्तरका उपकरण भित्र्याइएको रहेछ यसैबाट स्पष्ट हुन्छ। यसअघि कोभिड नियन्त्रणका बेलामा उक्त अस्पतालको मर्मत नगरी प्रदेश सरकार के हेरेर बसेको थियो ?’

कार्कीले सरकारी अस्पताल झन् बढी अद्यावधिक हुनुपर्नेमा प्रदेश सरकारको अकर्मण्यताका कारण अस्पताल नभएर भूताहा घरमा परिणत भएको धारणा प्रकट गरे।

उनले गत वर्ष बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय शय्याको अस्पताल सञ्चालन गरिए पनि प्रदेश सरकारले यस वर्ष अझ महामारीका बेला ३० शय्यामा खुम्च्याएको भन्दै आक्रोश व्यक्त गरे।

त्यस्तै गत वर्ष सरकारले न्यूरो अस्पताल विराटनगरमा १ सय शय्याको कोभिड अस्पताल सञ्चालन गरे पनि यस वर्ष त्यस अस्पताललाई सञ्चालन स्वीकृति नदिनु रहस्यमय भएको उनको धारणा छ।

उनले भने, ‘न्यूरोको व्यवस्थापनले सञ्चालन गर्छु भन्दाभन्दै प्रदेश सरकारले किन अनुमति दिइरहेको छैन ?’

त्यस्तै सुनसरीको इनरुवा अस्पतालमा कोभिडका लागि २२ शय्या छुट्टाइए पनि प्रदेश सरकारको असहयोगका कारण सञ्चालन हुन सकेको छैन।

प्रमुख सचेतक कार्कीले मुख्यमन्त्री शेरधन राईले उदयपुर जिल्लामा सबैभन्दा ठुलो कोभिड अस्पतालको निर्माण गर्ने घोषणा एक वर्षअगि गरेको भए पनि त्यो घोषणा निरर्थक भएको टिप्पणी गरे ।

‘उदयपुरमा कोभिड अस्पताल बनाउने भनेर डङ्का पिटिएको थियो’, उनले सोधे, ‘उदयपुरका बिरामी अस्पताल, अक्सिजन र भेन्टिलेटर नपाएर छटपटिँदै मृत्युवरण गरिरहेका छन् । त्यो चर्को आवाज आज कार्यान्वयनमा किन छैन?’

उनले सङ्खुवासभा र पाँचथर अस्पतालमा पनि भेन्टिलेटर र आइसियु सहितको कोभिड अस्पताल अविलम्ब निर्माण गर्न माग गरे ।

उनले प्रदेश सरकारले मेची र कोभिड–१९ उपचार केन्द्र गरी २ वटा मात्र अस्पतालको व्यवस्थापन गरेर आफ्नो अक्षमता सिद्ध गरिरहेको जिकिर गरे।

‘सरकारसँग अस्पतालमा भएका शय्याका बारेमा पनि सही तथ्याङ्क नभएका अवस्थामा सर्वसाधारण जनता उपचारै नपाई ज्यान गुमाउन बाध्य छन्’, कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अर्कातिर महामारीका बेलामा बजारमा कालोबजारी र महँगी चरम सीमामा पुगेकाले सेवाग्राही दैनिक उपभोग्य सामग्रीको चर्को मूल्य तिर्न बाध्य छन् । सरकार आफ्नो दायित्वबाट चुकिरहेको छ ।’

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell