PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

अक्सिजन वितरणबारे ‘बेतुक’को निर्णय सच्याउन पूर्वस्वास्थ्य मन्त्री थापाको माग, सरकारलाई दिए तीन सुझाव



पहिलोपोस्ट

अक्सिजन वितरणबारे ‘बेतुक’को निर्णय सच्याउन पूर्वस्वास्थ्य मन्त्री थापाको माग, सरकारलाई दिए तीन सुझाव

काठमाडौं: पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापाले अक्सिजन विक्री वितरणबारेको निर्णय सच्याउन सरकारसँग माग गरेका छन्।

'मन्त्रालयको सिफारिस बिना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पतालहरूलाई सिलिन्डर भरी बिक्री वितरण नगर्न अक्सिजन कम्पनीले नपाउने वैशाख २५ गते स्वास्थ्य मन्त्रालयको निर्णयले बिरामीलाई नै सास्ती भएको उल्लेख गर्दै पूर्वमन्त्री थापाले सच्याउन माग गरेका हुन्।

‘अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्न यो आवश्यक भएको भन्ने मन्त्रालयको तर्क छ। आवश्यक तयारी गर्नुपर्ने वेलामा नगर्ने अनि अहिले अत्तालिएर बेतुकको निर्णय गर्दा झन कोलाहल भएको छ,’ उनले भनेका छन्, ‘निर्णयको २४ घण्टा नबित्दै अहिले फेरी सिसिएमसीले हेर्ने भनिएको छ। यसरी कहिले के कहिले के हचुवाको भरमा गरेको निर्णयले समाधान दिँदैन बरु झन समस्या बढाएको छ।’

थापाले यो निर्णय सच्याउन माग गर्दै स्वास्थ्य मन्त्रालयलाई तीन वटा सुझाव पनि दिएका छन्।

जसअनुसार अस्पतालमा अक्सिजनको आपूर्तिलाई तत्काल सहज बनाउने, झन्झट नथप्ने। अस्पतालमा अनुगमन गर्ने सम्बन्धित निकायले गर्ने तर अक्सिजन सिलिन्डर भर्न मन्त्रालयको सिफारिस चाहिने अड्को थपेर अव्यवहारिक काम नगर्न गगनको सुझाव छ।

थापाले कहीँ कतै अक्सिजन दुरुपयोग नहोस् भन्नेतर्फ मन्त्रालयले सोचेको हो भने पनि त्यसको अनुगमन गर्ने यो उपयुक्त बाटो नभएको उल्लेख गरेका छन्। ‘त्यसका लागि मन्त्रालयले संयुक्त र्‍यापिड एक्सन टिम बनाएर प्रभावकारी रूपमा परिचालन गरी कुन अस्पतालमा शैया, बिरामी र अक्सिजनको अवस्था के छ, आवश्यकता के छ, ठिक ढङ्गले अस्पतालले उपचार गरेका छन् की छैनन् अनुगमन गर्नुपर्छ,’ थापाले भनेका छन्, ‘कतै दुरुपयोग भएको रहेछ, मापदण्ड मिचिएको छ भने कारवाहीको दायरामा ल्याउनुपर्छ, दायरामा ल्याउँ। तर, आफ्नो अक्षमता लुकाउन बिरामीलाई थप सास्ती दिने काम नगर।’

यस्तो निर्णयले कयौं ठाउँमा बिरामीलाई भर्ना लिने ढोका समेत बन्द भएको र दिएको सुविधा पनि घटाउन थालेको तथा कयौं बिरामी घर नै फर्काइएको उल्लेख गर्दै थापाले प्रश्न गरेका छन्, ‘यसको जिम्मा कसले लिने? अक्सिजन अभावका कारण हुने प्रत्येक व्यक्तिको मृत्युको जिम्मा यस्तो निर्णय गर्नेले लिनुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell