PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

के नेपाली फिल्म हलका लागि मात्रै बनेका हुन्? वैकल्पिक प्लेटफर्मबारे के भन्छन् कलाकार र निर्माता?



लक्ष्मी बलायर

के नेपाली फिल्म हलका लागि मात्रै बनेका हुन्? वैकल्पिक प्लेटफर्मबारे के भन्छन् कलाकार र निर्माता?

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा कलाकार तथा निर्माताहरुले नेपाली सिनेमा कल्चर भनेकै थियटर कल्चर भएको बताएका छन्। निफद्वारा आयोजित चौँथो संस्करणमा आज ‘कोरोना पछिको नेपाली चलचित्र’ विषयक अन्तर्किया गरिएको छ।

कार्यक्रममा निर्माता तथा निर्देशक अशोक शर्माले सिनेमा कल्चर भनेको थियटर कल्चर भएको बताए।

‘फिल्म बनेपछि विभिन्न प्रचारप्रसार गरिन्छ। हलमा फिल्म रिलिज हुँदा दर्शकहरुको माहोल, रियाक्सन, मनोविज्ञान बुझन सजिलो हुन्छ। जसअनुसार नै निर्माताहरुले चलचित्र निर्माण गर्ने गर्छन्,’ उनले भने।

फिल्मको प्रारम्भिक बजार भनेको हल नै भएको हुँदा पारिवारीक हिसाबले पनि हल नै राम्रो रहेको उनको तर्क छ।

‘कोरोनाले डेढ वर्षदेखि दर्शकको हलमा फिल्म हेर्ने बानीमा ब्रेक लागेको छ। त्यसैले केहि समय दर्शक हलमा नआउन सक्छन्। शुरुमा दर्शकको हल नजाने बानी भत्काउन जरुरी छ,’ उनले भने।

उनका अनुसार नेपालभर २२ वटा हलहरु बन्द भइसकेका छन् भने कोरोना महामारीले नेपाली फिल्म क्षेत्रलाई १० वर्ष पछाडि धकेलेको छ।

हाल प्री-प्रोडक्सनको काम मात्रै गर्न सकिने र हलमा शतप्रतिशत दर्शक आएपछि मात्रै फिल्म निर्माण गर्नुपर्ने उनले सुझाब दिए।

अभिनेत्री तथा निर्माता रेखा थापाले पनि डिजिटल प्लेटफर्म वैकल्पिक उपाय भएपनि नेपालको सबै भूगोल र जनताको पँहुचमा नपुगेकोले अहिले उपयुक्त नभएको बताइन्।

गत बैशाखमा रेखाले फिल्मको छायांकन गर्ने सोच बनाएकी थिइन् तर कोरोनाले रोक्यो। यो वर्ष पनि बैशाखदेखि फिल्म सुटिङ गर्ने उनको योजना कोरोनाको दोस्रो लहरले भत्काएको छ। कोरोना भाइरस नगएसम्म र सबैको अवस्था सामान्य नभएसम्म फिल्म निर्माण नगर्ने रेखाले बताएकी छिन्।

नेपाली चलचित्र हलमा हेर्न नै रमाइलो हुने हुँदा हलमा दर्शक आउने वातावरण बनाउन जरुरी रहेको उनले बताइन्।

त्यसैगरि, निर्माता अर्जुन कुमारको फिल्म ‘चपली हाइट ३’ २०७६ को चैत २८ मा रिलिज हुने तयारीमा थियो। तर, कोरोनाले रिलिज हुन पाएन। तीन/चार महिना अघि अवस्था सामान्य बन्दै थियो। उनले आउँदो भदौ वा असोजमा फिल्म रिलिज गर्ने सोच बनाएका थिए।

कोरोनाको दोस्रो लहरले उनको सोच पूरा हुन सकेन। यसरी फिल्म स्टक राख्दा फिल्म पुरानो हुने उनमा चिन्ता छ। नेपालमा राम्रो ‌ओटीटी प्लेटफर्म नहुँदा बनिसकेका फिल्महरु पनि कहाँ र कसरी लगाउने भन्ने अन्यौल रहेको उनले बताए।

नेपालमा डिजिटल प्रविधिको सहज पहुँच नभएसम्म ओटीटी प्लेटफर्ममा रिलिज गर्छु र पैसा कमाउँछु भन्ने दिवा सपना देख्नु जस्तै रहेको उनले सुनाए। हाल नेपाली फिल्म हेरिएको नभई जवरजस्ती देखाइएको अवस्था रहेकाले सजिलो माध्यम हुनुपर्ने उनको भनाइ छ। नेपाल टेलिभिजन लगायत सरकारी निकायबाट फिल्म हेर्ने सजिलो माध्यम बनाइनु पर्ने उनको जोड छ।

सोही कार्यक्रमा नेट टिभीका सञ्चालक मनोज अग्रवालले कोरोनाको महामारीले फिल्म क्षेत्रलाई दिएको चुनौतिलाई कसरी अवसरमा बदल्ने सोच्न आवश्यक रहेको बताए।

बनिसकेका फिल्महरुलाई रेभीन्यू शेयरिङबाट पनि डिजिटल प्लेटर्फम मार्फत प्रसारण गर्ने सकिने बताए। साथै सबैले मिलेर अगाडि बढ्न आवश्यक रहेको उनको तर्क छ।

नेपाली फिल्म आमाको डिजिटल प्रविधिबाट सफल एवं राम्रो आम्दानी गरेको स्मरण गर्दे हलको विकल्पमा नयाँ प्रविधि खोज्नपर्ने र सोचाइमा परिवर्तन गर्नुपर्ने समय आएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell