PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कोरोनाबाट मृत्यु भएका जनप्रतिनिधिको तीन दिनपछि बल्ल अन्त्येष्टि, एमालेले वास्ता नगरेपछि तरुण दलले ओढायो कम्युनिस्ट झण्डा



पूजा पन्थी

कोरोनाबाट मृत्यु भएका जनप्रतिनिधिको तीन दिनपछि बल्ल अन्त्येष्टि, एमालेले वास्ता नगरेपछि तरुण दलले ओढायो कम्युनिस्ट झण्डा

बुटवल : चार दिन अगाडि रुपन्देहीको बुटवलमा उपचारका लागि बेड नपाएर ज्यान गुमाएका एक युवाको आइतवार अन्तिम संस्कार गरिएको छ। बुटवल वडा न ७ का जनप्रतिनिधि तथा नेकपा एमालेका वडा सदस्यसमेत रहेका नविन थापाको स्थानीय युवाहरुले अन्तिम श्रद्धाञ्जलीसहित बुटवलको मगरघाटमा लगेर दागबत्ती दिएका छन्।

उनको अन्तिम संस्कारमा पनि उनको पार्टीका कोही पनि सहभागी नभएपछि नेपाल तरुण दलका युवाहरुले एमालेको झण्डा थापाको पार्थिव शरीरमा ओढाएको तरुण दलका युवा नेता हरि क्षेत्रीले बताए।

कोरोनाकै कारण मृत्यु भएका उनको शव तीन दिनसम्म कसैले उठाएको थिएन। तीन दिन बितिसक्दा पनि एमालेका मान्छे कसैले थापाको शवबारे र दाहसंस्कारमा चासो नदेखाएको तरुण दलको दाबी छ। एमालेले दाहसंस्कार नगरेपछि नेपाल तरुण दल वडा सभापति रवि गौचनको नेतृत्वमा स्थानीय युवाहरुले मगरघाटमै श्रद्धाञ्जली कार्यक्रम समेत राखेका थिए।

यूसीएमएस भैरहवाबाट थापाको शव ल्याएर एमालेको झण्डा ओडाएको सभापति गौचनले बताए। अन्तिम संस्कारमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका नेता कार्यकर्ता सहभागी थिए।

यसबारे बुटवल नगरपालिका वडा ११ वडाध्यक्ष एवम एमाले नेता रामचन्द्र क्षेत्रीले आफू संक्रमित भएर आइसोलेसनमा बसेको उल्लेख गर्दै अन्तिम संस्कारको बिषयमा थाहा नपाएको बताए। एमालेका अन्य स्थानीय नेताहरुले भने यो बिषयमा प्रतिक्रिया दिन मानेनन्।

बुटवल ७ शान्तिदिप टोलमा बस्दै आएका ४५ वर्षे थापाका १ श्रीमती र १ छोरी छन्। लामो समयसम्म नेकपा एमालेबाट राजनीति गरेका उनको अन्तिम संस्कारमा समेत पार्टीका मान्छे नआउँदा नराम्रो लागेको उनको परिवारले गुनासो गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell