PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

अन्तिम निष्कर्षमा माधव - झलनाथ समूह : 'पार्टी एकता असफल भयो, अब पर्खिन सक्दैनौं'



पहिलोपोस्ट

अन्तिम निष्कर्षमा माधव - झलनाथ समूह : 'पार्टी एकता असफल भयो, अब पर्खिन सक्दैनौं'

काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन माधव नेपाल समूहले दिएको अल्टिमेटमको समय सकिएको छ। माधव झलनाथ खनाल समूहले ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै आज बिहान ९ बजेसम्मको समय दिएको थियो।

तर, उक्त समय घर्किसकेकोले अब पर्खन नसक्ने नेपाल पक्षका सांसद झपट रावलले बताएका छन्।

'पार्टी एकताको प्रयास असफल भयो। यसबाट हामी स्तब्ध भएका छौ। अब समय सकियो,' सांसद रावलले पहिलोपोस्टसँग भने।

नेपाल समूहले आइतवार नै सामूहिक राजीनामाको तयारी गरे पनि अन्तिम समयमा रोकिएको थियो। ओली पक्षबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेलसहितको टोलीले सिंहदरबारमा वार्ता गरेपछि राजीनामा तत्कालका लागि रोकिएको थियो। यद्यपि, हिजै प्रधानमन्त्री ओलीले फ्लोर क्रस नगर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका थिए। ओलीले नेपाल पक्षको प्रयासलाई 'हानिकारक' भएको आरोप समेत लगाएका थिए।

‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन्,’ विज्ञप्ति जारी गर्दै ओलीले भनेका थिए, ‘कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेका छन्। यी प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त होइनन् र यी हानिकारक छन्।’

प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पक्षले ६ बुँदे प्रस्ताव ओलीसमक्ष राख्दै आज ९ बजेसम्मका लागि अल्टिमेटम दिएको थियो।

उक्त समय सीमामा ओलीको कुनै प्रतिक्रिया नआएपछि नेपाल पक्ष सिंहदरबारमा छलफलमा जुटेको थियो। बैठकबाट राजीनामा दिने निचोडमा नेपाल पक्षका नेताहरु संसद सचिवालय नयाँ बानेश्वरमा पुग्न थालेका छन्। नेपाल पक्षका २१ जनाले राजीनामा दिने बताइए पनि केही सांसद पछि हटेकाले तत्काल कति जना सांसदले राजीनामा दिने भन्ने विषयमा अझै यकिन भएको छैन। सांसदहरुले राजीनामाको पत्र हिजै नेपाललाई दिइसकेका छन्। प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell