काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्र कमजोर तुल्याउनु हो भनेका छन्।
आज सिंहदरबारमा माधवकुमार नेपाल समूहको बैठकपछि नेता रावलले भने, 'प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ।'
ओलीको कुनै पनि निर्देशन मान्य नभएको बताउँदै नेता रावलले ओलीलाई पार्टीको वैधानिक अध्यक्ष नभएको दावी गरे। 'ओलीको कुनै निर्देशन हामीलाई मान्य छैन। उहाँको कुरा मान्नुपर्ने हो भने वैध अध्यक्ष हुनुपर्छ। ओलीको ह्वीप मान्य छैन,' उनले भने।
नेपालको संविधान मिचेर ओलीले प्रतिनिधिसभाको विघटन गरेको सन्दर्भ उठाउँदै विश्वासको मत दिने दिने एकदिन अघिमात्र अध्यादेश जारी, संवैधानिक परिषद्को बैठक बोलाएर असंवैधानिक निर्णय गरेको आरोप लगाए।
'केपी ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर तुल्याउने। राजनीतिक नेतृत्वलाई ध्वस्त गर्ने। देश र राज्यलाई कमजोर तुल्याउनुहुने हुँदा यो बैठकमा अनुपस्थित हुने निर्णय गरेका छौ।'
आजै प्रधानमन्त्री ओलीले विश्वासको मतको सन्दर्भ सम्झाउँदै हतारमा अनुचित निर्णय नलिन भनेका थिए।
'यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु,' ओलीले ट्विटबाट भनेका थिए, 'आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं।'
नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले आज लिन लागेको विश्वासको मतका लागि ह्विप जारी गरेको छ। त्यसलाई नेपाल समूहले लत्याएको हो। आज बिहान ९ बजेसम्मका लागि ओलीलाई 'डेडलाइन' तोक्दै नेपाल समूहले २०७५ जेठ २ गते अघि एमाले माओवादी एकता हुनुपर्वको अवस्थामा फर्कनुपर्ने शर्त अघि सारेको थियो।
त्यसमा ओली सहमत भएनन्। संसदबाट संयुक्त राजीनामा दिने रणनीति लिएको नेपाल समूहका सांसदहरुले पनि आफ्नो रणनीति बदल्दै ह्विप उल्लंघन गर्ने बाटो लिएका छन्।
