विराटनगरः कोरोना सङ्क्रमण भएका स्वतन्त्रता सेनानी एवम् नेपाली काँग्रेसका पुराना नेता नित्यराज कोइरालाको मृत्यु भएको छ।
धनगढीमा छोरी मनीषालाई कोरोना सङ्क्रमण भएपछि उनलाई हेर्न काठमाडौंस्थित घरबाट गएका कोइरालाको धनगढीमै आज बिहान मृत्यु भएको हो।
‘नित्यराजजी पुरानो, दुःख पाएको र त्यागी काङ्ग्रेस नेता हो’, मोरङ काङ्ग्रेसका पूर्व सभापति बद्रीनारायण बस्नेतले भने, ‘२०३६ सालअघि पार्टीका कमिटीमा बसेर काम गर्न कोही चाहँदैनथे । तर उहाँ लामो समयसम्म मोरङ काङ्ग्रेसको जिल्ला सदस्य भएर सक्रिय हुनुहुन्थ्यो।’
नित्यराजको जन्म १९९० सालमा भएको थियो। उनले २०१४ मा लखनउ विश्वविद्यालयबाट मनोविज्ञानमा स्नाकतोत्तर गरेका थिए। विद्यार्थी कालमा वामपन्थी राजनीतिमा सक्रिय नित्यराजका सहकर्मीमा स्वर्गीय मनमोहन अधिकारी, भरतमोहन अधिकारी र कमल कोइरालालगायत थिए। २०१५ सालमा बीपी कोइरालाका नेतृत्वमा नेपाली काँग्रेस सरकार बनेपछि उनी काँग्रेसमा लागेका थिए। बीपीले उनलाई भिलेज डेभलपमेन्ट अफिसरको राजनीतिक नियुक्ति पनि दिएका थिए।
२०१७ सालको काण्डपछि नित्यराज बेरोजगार भए। यसपछि उनी विराटनगरकै एक प्राथमिक विद्यालयमा शिक्षक भए। तर पञ्चायती सत्ताले उनको शिक्षकको जागिर पनि तत्काल खोसिदियो। जागिर खोसिएपछि उनी काँग्रेसमा नै सक्रिय भएर निर्वासित भए।
उनी भारतका जोगबनी, फारबिसगञ्ज र जयनगर गरी तीन ठाउँमा ८ वर्ष निर्वासित भए। उनी २०२५ सालको आममाफीमा नेपाल फर्किएका थिए। शहीद सरोज कोइरालासित बढी निकटता भएकाले उनी जयनगरको निर्वासनमा पुगेको पूर्व सभापति बस्नेतको भनाइ छ।
कोइराला पञ्चायत कालमा पटकपटक गरेर तीन वर्षभन्दा बढी वन्दी भए।
२०४७ मा बहुदलीय व्यवस्थापनको पुनःस्थापना र काङ्ग्रेसको सरकार भएपछि उनी इटाटायल कारखाना र नेपाल खाद्य संस्थानमा केही समय महाप्रबन्धक भएका थिए।
कोइरालाको मृत्युले मुलुकले एक प्रतिबद्ध र साहसी सेनानि गुमाएको बस्नेतले बताए। कोइरालाका श्रीमती, दुई छोरा र एक छोरी छन्।
