काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्रीलाई साथ* नदिने भएका छन्। पार्टी संगठन २०७५ जेठ २ मा फर्काउन ओली तयार नभएपछि वामदेवले उनको विपक्षमा उभिएका हुन्।
वामदेवले ओलीलाई एमालेको स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह गरेका थिए। तर ओलीले, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ। त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन’ भनेपछि प्रतिउत्तरमा गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भनेको गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिएका छन्।
त्यसैगरी, उपाध्यक्ष गौतमले पार्टी फुटाए माधव नेपालको नेतृत्वमा अघि बढ्ने पनि जानकारी दिएका छन्। ‘नेपाल समूहले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु,’ गौतमले भनेका छन्।
यद्यपि, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताको एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा आफ्नो सहमति नभएको गौतमको प्रष्टीकरण छ।
*(यसअघि त्रुटिवस विश्वासको मत नदिने भन्ने शब्द पर्न गएकोमा भूल सुधार गरिएको छ। - सं)
