काठमाडौं: प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशनको पहिलो बैठक बसेको छ। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट आएको विशेष अधिवेशन सम्बन्धी पत्र पढेर सुनाए।
त्यसपछि उनले विश्वासको मत लिनेक्रममा लामोगरी चल्ने दोस्रो बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरे।
सभामुखले दलीय आधारमा मनोनयन गरेका सदस्यहरुमा मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली, रेखा शर्मा, रेणु यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे रहेका छन्।
सभामुखले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम मनोनयन गरेका हुन्।
प्रतिनिधिसभाको दोस्रो बैठक १५ मिनेटपछि बस्दैछ।
दोस्रो बैठकको कार्यसूचीमा प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ को उपनियम (२) बमोजिम विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गर्ने र उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने राखिएको छ।
