काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान कोभिड रोकथाम र उपचारमा केन्द्रित रहेको दावी गरेका छन्।
आज संसदमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै ओलीले अहिलेको अवस्थामा विचार र संस्थागत वा कुनै प्रकारमा भिन्नतालाई थाँती राखेर सबै एकजुट भएर लाग्नुपर्ने बताए। यतिखेर आफ्नो पक्षका लागि कुनै हिसाबले प्रयोग गर्न नहुने उनले बताए।
'सरकारमा प्रयासमा साथ सहयोग दिन र सबै पक्ष सञ्चारमाध्यम राजनीतिक दल संघसंस्था एकजुट भएर यस लडाईमा सामेल होऔ,' ओलीले भने। उनले कोभिड १९ पराजित गर्ने साझा उत्तरदायित्व बहस गर्न सबैसँग आग्रह पनि गरे।
उनले स्थिरत र स्थायित्वका सवालमा एकतावद्ध हुनुपर्ने, जनताले देख्ने बुझ्ने र अनुभव गर्नेगरी लाग्नुपर्ने उल्लेख गर्दै भने, 'तर दुखका साथ भन्नुपर्छ हामी त्यसरी जान सकेनौं।'
प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने काम भएको उनले आरोप लगाए। कोभिड खोप खरीदमा भ्रष्टाचारमा नभएको कनेक्सनमा जोडेर अनुचित काम भएको उनको दावी थियो।
'कोभिडको यस्तो महामारीमा जीवन रक्षा पहिलो प्राथमिकता हो,' ओलीले भने, 'साझा समस्याका बेला पनि कसैले भ्रष्टाचार गरेको छ भने क्षम्य हुँदैन। छानविन हुन्छ । पुष्टि भए कारवाही हुन्छ।'
उनले 'रअ'का प्रमुखसँग भेटेको र सम्झौतापत्रमा हस्ताक्षर गरेको फेक पत्रबारे पनि आक्रोश पोखे। 'अनअफिसियल डुकमेन्टमा कसरी हस्ताक्षर हुन्छ?,' ओलीको प्रश्न थियो। कीर्ते काममा संलग्न नहुन पनि उनले आग्रह गरे।
विश्वासको मत किन?
प्रधानमन्त्री ओलीले आफू र सरकार विरुद्ध नियोजित रुपमा आक्रमण भएको भन्दै विश्वासको मत लिन आवश्यक ठानेको बताएका छन्। 'सार्वभौम जनताको यस्तो अवस्थामा विचारको आग्रह, आफ्ना स्वार्थबाट निर्देशित भएर होइन, म कहाँ आवद्ध र सम्वद्धता कहाँ भनेर होइन,' ओलीले भने, 'सत्यलाई पछ्याएर निर्णय गर्ने अवस्था छ। गर्नुपर्छ। वर्तमान सरकार कुनै हिसावले विश्वास गर्नु नपर्ने होइन।'
उनले राष्ट्रियको सन्दर्भमा भौगलिक अखण्डताको रक्षा, स्वाधिनता, राष्ट्रिय हितलाई सर्वोपरी राखेर व्यवहार गर्ने सम्बन्धमा र राष्ट्रिय स्वाभिमान माथि उठाउने सम्बन्धमा वर्तमान सरकारले कुनै कसर नराखेको दावी गरे। 'तथ्यभन्दा माथि तर्क र तर्क गर्न पर्दैन तथ्य आफैँ बोल्छ। हामीले प्राप्त गरेका उपलब्धी आफैँ बोल्छ,' ओलीले भने।
'हामी आइडियोलोजी र संलग्नतालाई महत्व दिन्छौं भने बेग्लै कुरा हो। नत्र अविश्वास गर्नुपर्ने वा विश्वास गर्न नसकिने कारण छैन,' ओलीले भने, 'सुशासन शान्ति सुव्यवस्था र राष्ट्रिय समस्या समाधानको समस्याहरुलाई समाधान गरेर अगाडि बढेको छ। त्यस अनुसार यस सरकारमाथि विश्वास नगर्नुपर्ने कुनै कारण छैन।'
अब कसैले विखण्डनको विभाजनको राजनीति नबोक्ने ओलीले बताए। 'राष्ट्रियता भौगलिक अखण्डताका विषयमा अब कुनै विवाद छैन,' ओलीले भने, 'पृथकतवादी धारालाई मूल धारामा ल्यायौं। आफ्नो राजनीति उद्देश्य र माग आकांक्षा पूरा गर्नका लागि हिंसालाई माध्यम बनाउनुपर्छ भन्ने सोच परिवर्तन भएका छन्। सरकारले मार्ग परिवर्तन गरायो। शान्तिको मूल मार्गमा ल्यायो। यस्तो सफलता सरकारले प्राप्त गर्यो। यो उपलब्धी होइन?'