काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छातीमा हात राखेर आफैँसँग प्रश्न गर्न भनेका छन्। उनले कोभिड १९ ले यस्तो विकराल अवस्था किन आयो आफैँसँग सोध्न ओलीलाई आग्रह गरे।
तीन वर्षमा सरकार पूर्ण रुपमा असफल भएको देउवाको भनाइ थियो। 'एक पटक छातीमा हात राखेर भन्नुस्। यो अवस्था तपाईँले गर्दा भएको हो। हामीले यो संसदमा छलफल गरिरहेको अवस्थामा कोभिड १९ को महामारीमा परी जनता मरिरहेको अवस्था छ।'
उनले आफ्ना नजिकका व्यवसायीलाई पोस्नका लागि जनताको ज्यान दाउमा लगाएको आरोप पनि लगाए। 'व्यापारी घरानालाई पोस्न नेपाली जनताको ज्यान दाउमा राखेको इतिहाले बिर्सिन्छ?,' देउवाले प्रश्न गरे।
विश्वासको मत नपाउने थाहा पाउँदापाउँदै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेको देउवाले बताए। देउवाले देश लोकतान्त्रिक मूल्य मान्यतामा नचलेको तर्क गरे।
'मेरो मनमा प्रश्न उठिरहेको छ। के लोकतान्त्रिक मुल्य मान्यतामा देश चलिरहेको छ?,' देउवाले भने। उनले देश अहिले संकटको अवस्थामा रहेको बताउँदै प्रश्न गरे, 'सरकार सञ्चालनको जिम्मा लिएकाबाट संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित छ?'
कोरोना महामारी सुरु भएको १ वर्ष भइसकेको सन्दर्भ उठाउँदै देउवाले सरकारले त्यसको नियन्त्रणमा असफल रहेको बताए। 'हामीले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले नियन्त्रण गरेन,' देउवाले भने।
