PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

ओलीलाई प्रचण्डको प्रश्न : तपाईँले विश्वासको मत राख्ने नैतिक अधिकार छ र?



पहिलोपोस्ट

ओलीलाई प्रचण्डको प्रश्न : तपाईँले विश्वासको मत राख्ने नैतिक अधिकार छ र?

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत यो सदनले नदिने प्रस्ट्याएका छन्। 

आज संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत मागेका छन्। त्यसको प्रत्युत्तरमा प्रचण्डले विश्वासको मत नदिने बताएका हुन्। 

'प्रमले विश्वासको मतको निम्ति आग्रह गर्नुभएको छ। प्रमलाई राम्ररी थाहा छ यो सदनले विश्वासको मत दिँदैन,' प्रचण्डले भने, 'बुझ्दाबुझ्दै झुटो दाबी गर्नुभएको छ। तपाईँको सरकार गठनदेखि हेर्दाखेरी विश्वासको मत दिने आधार छैन्।' 

संसद पुनस्थापन भएकै दिन राजीनामा दिएर नयाँ सरकारको गठनको विकल्प दिन उपयुक्त हुन्छ भनेको स्मरण गर्दै प्रचण्डले भन अहिले पनि राजीनामा गरेर नयाँ सरकारको बाटो खुल्ला गरिदिनु संविधानसम्मत हुने बताए।

'संविधानमा हामीले एउटा सरकार गठन भइसकेपछि ५ वर्षसम्म काम गरोस् भनेर संविधानको धारा ७१ एक, दुइ, तीन, राखियो। संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक विकासको पक्षमा जावस् भनेर राख्यौं, ' उनले भने, 'म आज म त्यति खुशी छैन। के सोचेर संविधान बनायौं? ३ वर्ष नपुग्दै फेरी दुश्चक्रमा फस्नाले म साच्चै दु:खी छु।' 

उनले संविधान बनाउने बेलामा विगतका गल्ती दोहोरिन दिन हुँदैन भनेर संविधानमा प्रावधान राखेको बताए। उनले संसदको अहिलेको अवस्थामा सांसद किनबेचको अवस्था देखिन थालेको समेत जनाउँदै चिन्ता जाहेर गरे। 

'मैले देशमा अराजकता नआवस् भनेर वाम गठबन्धनको प्रस्ताव मैले राखेको हो। प्रधानमन्त्री तपाईँ नै हो भन्ने पनि म नै हो। प्रधानमन्त्रीको प्रस्ताव गर्ने पनि म नै हो,' प्रचण्डले भने, 'तीन वर्ष नपुग्दै कम्युनिस्ट एकता क्षतविक्ष्यत भएको छ। संविधानलाई कोरोना लागेर आईसीयूमा राखेको अवस्थाबाट गुज्रिनुपरेको छ।'

'देशमा जुन संकट, लोकतान्तिक प्रणालीमा संकट मुख्य रुपमा कसका कारण आयो? के तपाईँ छातीमा हात राखेर आत्मसमीक्षा गर्न सक्नुहुन्छ?,' उनले चुनौती दिए, 'म हो कि तपाईँ हो राष्ट्रिय समस्या?'

आफूले ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको जनाउँदै उनले पार्टी भित्र आफूले कहिले अवरोध गरेको बताउन चुनौती दिए। 'बरु यसका लागि तपाईँ नै जिम्मेवार हो। तपाईँले विकास र समृद्धिको सपना डे वान देखि नै अवरोध गर्नुभयो। पार्टीभित्रको लोकतान्त्रिक छलफललाई कचिगंल भनेर प्रतिनिधिसभा विघटन गरेको हो,' उनले भने।

ओलीविरुद्ध कडा रुपमा प्रस्तुत भएका प्रचण्डले प्रश्नमाथि प्रश्न गरे। 'तपाईँले देशलाई आक्रान्त हुनेगरी संसद विघटन गरेको होइन?,' उनले प्रश्न गरे, 'मैले अलोकतान्त्रिक छ भनेको हो। प्रमले मर्‍यौं भन्नुभएको छ। हामी मरेका छैनौ भनेको थिएँ।' 

उनले विश्वासको मत माग्ने नैतिक अधिकार ओलीसँग नरहेको तर्क पनि गरे। 'तपाईँले विश्वासको मत राख्ने नैतिक अधिकार छ र?,' उनले प्रश्न गरे, 'तपाईँ फेरि विघटनको बाटो बनाउनका लागि आउनु भएको त होइन?'
'तपाईँलाई ऐतिहासिक अवसर थियो। म जस्तो भावुक मानिसको प्रस्तावमा तपाईँ प्रम हुनुभयो। मेरो त मुखुमा जे छ त्यो अनुहारमा आइहाल्छ तर तपाईँको मुखमा एउटा र मनमा अर्को गर्ने मान्छे हुनुहुँदो रै'छ,' उनले भने। 

आलोपालको प्रधानमन्त्री सहमति आफूले नतोडेको बताउँदै कोभिड १९ संक्रमण फैलनुमा ओलीकै दोष रहेको दावी गरे। 'तपाईँले नै होइन ठूला ठूला समारोह गर्ने? तपाईँ अनुशासनमा नबसेपछि अरुलाई भन्ने नैतिक अधिकार हुँदैन,' उनले भने, 'त्यहीबाट हो कोरोना ब्यापक गरेको।'

प्रतिनिधिसभा विघटन ओलीलाई अझै पनि बेठिक नलागेको दावी समेत उनले गरे। 'तपाईँले हिजो संवैधानिक परिषदको बैठक किन राख्नुभयो? आज विश्वासको मत लिएर राखे पनि हुन्थ्यो। तर, तपाईँलाई कब्जा गर्नु थियो।' तपाईँलाई संविधान मिचेर देखाउँछु भन्ने आयो कि के हो?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell