काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रतिनिधिसभा विघटन नहोस् भन्नका लागि प्रतिनिधिसभामा विश्वासको मत मागेको दाबी गरेका छन्।
उनले प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै भने, 'केही साथीले भन्नुभयो प्रतिनिधिसभा पुन: विघटन हुन्छ कि भन्ने चिन्ता ब्यक्त गर्नुभयो। त्यही नहोस् भन्नका लागि त मत मागेको हो नि? मत दिनुस् न त पाँचै वर्ष चल्छ।'
उनले आफूले मुद्दा लडेर पुन:स्थापना गरेको प्रतिनिधिसभा पाँच वर्ष बचाउन पक्षमा मत दिन आग्रह गरे।
'मत दिनुस् पाँच वर्ष चलाउँ भन्छु, मान्नु हुन्न त म के गरुँ? भीरको डिलमा गएर मुन्तिर फाल हाल्ने अनि गुरुत्वकर्षणलाई दोष दिने?,' उनले प्रश्न गरे।
पुन: विघटन गर्छ की भन्ने चिन्ता व्यक्त गर्नेलाई षड्यन्त्र चकनाचुर पार्न कटाक्ष गरे। 'फेरी पुन: विघटन गर्छ की भन्ने व्यक्त गर्नुभयो। षड्यन्त्र देख्नुभयो। मत दिनुस् षड्यन्त्र चिर्दिनुस् न त,' उनले भने।
