PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'निफ'मा लेखकहरूबिच छलफल : कहाँ छ नेपाली चलचित्र?



लक्ष्मी बलायर

'निफ'मा लेखकहरूबिच छलफल : कहाँ छ नेपाली चलचित्र?

काठमाडौं : ‘कहाँ छ नेपाली चलचित्र?’ शीर्षकमा लेखकहरूबिच अन्तरक्रिया भएको छ। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चौंथो संस्करणमा विषयमाथि मन्थन भएको हो।

लेखक कृष्ण धराबासीले नेपालमा फिल्म मनोरन्जनका लागि मात्र निर्माण हुने गरेको बताए। जसका कारण फिल्म सफल हुन नसकेको उनको तर्क रह्यो। फिल्ममा कुशल लेखनको महत्वबारे आफ्नो तर्क राख्दै भने,'फिल्मले दिने भनेको विषयवस्तु हो। त्यसलाई प्रस्तुत गर्ने अभिनय कलाले हो। अभिनय कस्तो गर्ने निर्देशकमा भर पर्छ। तर मुख्य कुरा कथा नै हो।'

तत्कालिन सामाजिक, राजनीतिक परिवेशले फिल्मलाई निर्देशन गर्ने उनको बुझाइ राखे। समाज जसरी अघि बढेको छ त्यसलाई फिल्मले सम्बोधन गरे फिल्म चल्ने बताए। 'फिल्म क्षेत्रमा कल्पनाशिलता र वोधगम्भीरता नभएर चटपटे मात्रै छ। यस्तो प्रवृत्ति अन्त्यका लागि १५ दिन स्क्रिप्ट लेख्ने, १५ दिनमा सुटिङ सक्ने र हतारमा फिल्म रिलिज गर्न नहुने तर्क।

त्यस्तै लेखक युग पाठकले 'फिल्म र साहित्य समाजको ‌ऐना हो' भन्ने कुरा बदल्न पर्ने बताए। भने,'फिल्म समाजको ऐना कदापी होइन। त्यो ऐना कसले देखाएको हो, कस्तो विचारको मान्छेले देखाएको हो, त्यसमा निर्भर हुन्छ।'

साथै नेपाली फिल्म बलिउडबाट प्रभावित भएको उनले बताए।

निर्देशक तथा चलचित्र विकास बोर्डका सदस्य प्रकाश भट्टराईले पाठकको तर्कलाई आड दिए। नेपाली फिल्म विदेशी शैलीबाट प्रभावित भएकाले मौलिकता नझल्किएको सुनाए।

'नेपाली फिल्मले हिमाल, पहाड र तराईका कथा समेट्न सकेनन्। जातीय विभेद, धर्मसंस्कृति, ऐतिहासिक र प्राकृतिक विषयमा कथा बन्न सकेनन्। कथामा विविधता र नवितम शैली नहुँदा नेपाली फिल्म माथि उठ्न सकिरहेको छैन। हामीले कथाको उत्खनन् गर्न बाँकी नै छ,' उनले भने।

महिला अधिकारकर्मि तथा पत्रकार बबिता बस्नेतले पनि नेपालमा ऐतिहासिक विषयमा फिल्म बन्नुपर्ने तर्क राखिन्। कोरोनाले गर्दा नेपाली चलचित्र क्षेत्रको अवस्था कठिन बनाएको उनको भनाई छ।

पहिलेका फिल्ममा महिलालाई खाली रोनाधोना र आँशु बिक्री गराएको अभिव्यक्ति दिइन्। भनिन्, 'पहिलेका फिल्मले महिलालाई कि त देवता देखायो, कि त बोक्सी। तर महिलाको वास्तविक जीवन देखाउन सकेन।'

समय र समाज परिवर्तन भए अनुसार फिल्ममा पनि महिलालाई फरक देखाउन पर्ने उनको तर्क छ।

'अब सशक्तिकरण बिक्ने बेला भएको छ। फिल्ममा जीवन झल्किन जरुरी छ। महिला मात्रै झल्किनु भएन। महिला र पुरुष मात्र नभएर अन्य लिङ्गीहरुले पनि फिल्ममा आफुलाई पाउनूपर्छ। सबैले आफ्नो जिवन देख्न पाउनु पर्छ,' उनले बताइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell