PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कैलालीमा थप ८ जना कोरोना संक्रमितको मृत्यु, २७६ नयाँ संक्रमित थपिए



पहिलोपोस्ट

कैलालीमा थप ८ जना कोरोना संक्रमितको मृत्यु, २७६ नयाँ संक्रमित थपिए

कैलाली : कैलालीमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कञ्चनपुरको भीमदत्तनगरपालिका ५ का ३३ वर्षीय पुरुष, कैलालीको घोडाघोडी नगरपालिका १० का ६७ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका ३ का ६८ वर्षीय पुरुष, धनगढी ३ कै ८७ वर्षीय महिला र धनगढी १८ की ४२ वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

त्यस्तै, टीकापुर अस्पतालमा टीकापुर नगरपालिका १ का ५१ वर्षीय महिला र टीकापुर ७ की ६३ वर्षीय महिलाको मृत्यु भएको छ। जानकी गाउँपालिका १ की ६७ वर्षीय महिलाको अस्पतालबाट घरमा पुर्‍याएपछि ज्यान गएको सूचना अधिकारी जोशीले जानकारी दिए।

यस्तै, पछिल्लो २४ घण्टामा कैलालीमा मात्रै २ सय ७६ नयाँ कोरोना संक्रमित थपिएका छन्। सेती अस्पतालमा गरिएको परीक्षणमा थप २ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। प्रयोगशालामा ५ सय ६४ नमुना परीक्षण गर्दा २ सय ९६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

संक्रमितमध्ये कैलालीको धनगढीका मात्रै १७० जना रहेका छन्। त्यस्तै, धनगढीबाहेक कैलालीका अन्य स्थानीय तहका १ सय ६ जना र अन्य जिल्लाका २० जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। हाल अस्पतालमा ५९ जना कोरोना संक्रमितको उपचार भइरहेको श्रेष्ठले बताए। जसमध्ये ५ जना भेन्टिलेटरमा, १३ जना आइसीयूमा, ३६ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ५ जना निको भई घर फर्किएका छन् भने थप १५ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell