काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई देश, जनता र पार्टीप्रति जिम्मेवार भएर सोच्न आग्रह गरेका छन्। सोमवार एक विज्ञप्ति जारी गर्दै नेता नेपालले देशको संविधान र पार्टीको विधानको सम्मान गर्न, विगतका गल्तीहरुलाई सच्याउन, पार्टी एकताका लागि आफूहरुले अगाडि सारेका कुराहरुको सम्बोधन गर्न र राष्ट्रिय तथा पार्टीको एकतालाई नखल्बल्याउन ओलीलाई आग्रह गरेका हुन्।
नेता नेपालले ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक भएको समेत उल्लेख गरेका छन्।
‘पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीका कामकारबाहीका कारण उहाँलाई राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित हुँदैनथ्यो। उहाँका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि आ-आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तव्य हुने भएकोले सोही अनुरुप हामीले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेका हौँ’ विज्ञप्तिमा भनिएको छ।
आफूहरुले पार्टी एकता जोगाउन ओलीसँग अनेक पटक विभिन्न किसिमले वार्ता गरेको भन्दै नेपालले वार्तालाई केवल अल्मल्याउने र भ्रम सिर्जना गर्ने दाउपेचका रुपमा ओलीले उपयोग गर्न खोजेको बताए। ओलीले कुनै सकारात्मक सोच र प्रस्ताव नराखेको उनले बताए।
‘वार्तापछि झन क. केपी ओलीले स्थायी कमिटीको गठन र कार्यविभाजनको कथित निर्णय गर्दै कम्युनिस्ट आन्दोलनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने नेताहरुलाई निष्काशन गर्ने खेदजनक कार्य गर्नुभयो। यही बैशाख २६ गते पार्टी एकताका लागि स्पष्ट आधार सहित उहाँलाई पत्र समेत पठाइयो। तर, त्यसप्रति उहाँले कुनै चासो नराखी फुटकै बाटोमा अघि बढ्नु भयो,’ उनले भने।
विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो गुटको पिछलग्गु हुन अस्वीकार गर्ने देशभरिका नेकपा (एमाले)का नेता, कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिहरुलाई कथित स्पष्टिकरण सोध्ने, धम्क्याउने र जिम्मेवारी एवं पार्टीबाट निलम्बन र निष्काशन गर्ने घृणित विभाजनकारी कार्य केपी गुटबाट भएका छन्। यस्ता अलोकतान्त्रिक र पार्टी विधान विरोधी क्रियाकलापहरुप्रति नेकपा (एमाले)का इमान्दार, देश र जनताप्रति निष्ठावान नेता, कार्यकर्ता र सदस्यहरुले विरोध र प्रतिवाद गर्दै आएका छन्।’
ओलीले पार्टीमा मात्र नभई राज्य सञ्चालनमा समेत अनेकौँ स्वेच्छाचारी र अनियमित कार्य गरेको नेपालको आरोप छ। प्रतिनिधि सभाको असंवैधानिक विघटन, संवैधानिक परिषद्मा मनपरी, कानुनी शासनको उपहास, भ्रष्टाचारीहरुलाई संरक्षण जस्ता ओलीका क्रियाकलापहरु छताछुल्ल भइसकेको पनि उनले आरोप लगाएका छन्।
नेपालले भनेका छन्, ‘देश कोरोना महामारीबाट आक्रान्त भइरहेको बेला जनताको स्वास्थ्य सुरक्षाका लागि काम गर्नुपर्ने बेला स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार गर्नेहरुलाई प्रश्रय दिनुका साथै राष्ट्रलाई अन्योलग्रस्त तुल्याउने र विभाजित गर्ने काम प्रधानमन्त्रीबाट भइरहेको छ। प्रतिनिधि सभाको विघटनलाई सर्वोच्च अदालतले नै असंवैधानिक भनिसकेपछि पनि प्रधानमन्त्री केपी ओलीले आफ्नो निर्णयको जिम्मेवारी लिएर पदबाट राजीनामा दिने लोकतन्त्रको न्यूनतम मर्यादा र नैतिकता नदेखाई देश र दुनियाँका सामु नेकपा (एमाले)को प्रतिष्ठामा आँच पुर्याउने काम गर्नुभयो।’
गत हिउँदे अधिवेशनमा ओली एक दिन पनि उपस्थित नभई र संसदलाई कुनै काम नदिई अन्त्य गरिएको भन्दै नेता नेपालले नियमित अधिवेशनमा लिनुपर्ने विश्वासको मत आफैँले अधिवेशन बोलाई लिने गलत बाटोमा ओली अग्रसर भएको बताए। ओलीले नेपालको संविधान, लोकतन्त्र, राष्ट्रिय हितका साथै नेकपा (एमाले)को विधान, विधि, सिद्धान्त, नीति र आदर्श विपरीतका काम तीव्र पार्दै देश, जनता र लोकतन्त्रको भविष्यलाई नै खतरातर्फ धकेलिरहेको नेपालको भनाइ छ।
उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानमा आँच पुग्ने किसिमका गतिविधिहरु गर्दै राज्यलाई नै कमजोर तुल्याइरहनु भएको छ। प्रदेश सरकारहरुलाई पनि सत्ता संघर्षतर्फ धकेल्दै अस्तव्यस्त बनाउनेतर्फ उहाँको संलग्नता रहेको छ। यसको ज्वलन्त उदाहरणका रुपमा गण्डकी र लुम्बिनी प्रदेशमा संविधान र लोकतन्त्रको मर्म तथा मान्यता विपरीत भएका कार्यहरुलाई लिन सकिन्छ।’