हेटौँडा : निषेधाज्ञाका कारण हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित धापमा रहेको मानवसेवा आश्रममा खाद्यान्नको अभाव हुन थालेको छ। कोरोनाका कारणले हेटौँडामा विगत ९ दिनदेखि निषेधाज्ञा जारी भएकाले आश्रममा रहेका आश्रितहरुलाई बिहान बेलुका खान समस्या हुन थालेको हो।
आश्रममा अरुबेला जन्मदिन, विवाह वर्षगाँठ, पितृहरुको सम्झनामा मानिसहरुले भोजनसेवा गराउँदै आइरहेका थिए। कोरोना कहरले सहयोगीहरु आउन बन्द भएपछि आश्रमलाई समस्या परेको हो। २५० जना रहेको मानवसेवा आश्रममा अब २ दिनसम्मलाई मात्रै पुग्ने खाद्यान्न रहेको अभियन्ता होमनाथ पौडेलले जानकारी दिए। दिनमा कम्तिमा २५ हजार बराबरको खाद्यान्नमा खर्च हुने उनले बताए।
आश्रममा दुई दिनको लागि मात्रै खान रहेको हुनाले समस्या परेको उनले बताए। उनले हेटौँडा उपमहानगरपालिकालाई जानकारी दिएको तर उपमहानगरपालिकाको कार्यालय पनि बन्द भएको अवस्थामा केहि गर्न नसकिने मेयर हरिबहादुर महतले बताएको जानकारी दिए। अभियन्ता पौडेलले आश्रममा खाद्यान्नको आवश्यकता परेको हुँदा सहयोगी दाताहरुलाई सहयोग गर्न अपिल गरेको छन्।
मानवसेवा आश्रम नेपालभरका सडकमा मानसिक सन्तुलन गुमाएका, वृद्ध वा शारीरिकरुपमा अशक्त भएर वा कुनै रोग उपचार गर्न नसकेर माग्ने र सडकमै खाने/बस्ने अलपत्र अवस्थाका रहेको मानिसलाई स्याहार गर्ने एक सामाजिक परोपकारी संस्था हो। आश्रमले त्यस्ता व्यक्तिको उद्धार गरेर आश्रममा ल्याई औषधि उपचार गर्ने, परिवार खोजेर सकेसम्म पारिवारिक पुनर्मिलन गराउने, परिवार नभेटिए आश्रममै सहारा बनेर सेवा गर्दै आइरहेको छ।
