PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एनएसएल प्लेअफमा नपुगेका तीन क्लब : कहाँ चुके, किन सकेनन् सम्हालिन?



मुकुन्द घिमिरे

एनएसएल प्लेअफमा नपुगेका तीन क्लब : कहाँ चुके, किन सकेनन् सम्हालिन?

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) मा लिग चरणका खेलहरु सकिएर प्लेअफका खेलहरु सुरु हुँदैछन्। प्रतियोगितामा काठमाडौं रेजर्स १३ अंक जोडेर शीर्षस्थानमा रहँदै प्लेअफका लागि क्वालिफाइ भयो भने धनगढी एफसी १० अंक जोडेर दोस्रो स्थानमा रहँदै क्वालिफाइ भयो। त्यस्तै तेस्रो स्थानमा ललितपुर सिटी र चौथो स्थानमा बुटवल लुम्बिनी एफसी रहँदै प्लेअफको यात्रा तय गर्‍यो।

बाँकी तीन टीम पोखरा थण्डर्स, विराटनगर सिटी एफसी र एफसी चितवन प्रतियोगताबाट बाहिरिए। यसमध्ये विराटनगर सिटीले प्रतियोगितामा हेर्नलायक खेल प्रस्तुत गरेको थियो भने पोखरा थण्डर्सको प्रदर्शन पनि औसत नै थियो। एफसी चितवनले भने प्रतियोगितामा एउटा पनि जित निकाल्न सकेन। कहाँ चुके त यी टिम?

विराटनगर सिटी एफसी

‘पूर्वको सान’ भनेर समर्थन कमाएको विराटनगर सिटीले एनएसएलको यात्रा सुखद तय गरेको थियो। आफ्नो पहिलो खेलमै धनगढी एफसीमाथि ३-० को सानदार जित निकालेको विराटनगरले समर्थकमात्र हैन अरु दर्शकको पनि मन जितेको थियो। प्रशिक्षकमा भारतीय आईलिगमा राम्रो अनुभव बटुलेका यान ललाई भित्र्याएको थियो। रञ्जित धिमालको कप्तानीमा रहेको विराटनगरसँग विदेशी खेलाडी पनि त्यतिकै राम्रा थिए। स्पेनिस खेलाडीलाई पेड्रो माञ्जीदेखि नेपाली खेलाडी सन्तोष तामाङ, नाइजेरियन एडिलेजा सोमिडे लगायतले राम्रो अट्याक बनाएका थिए। सुनिल बल तामाङ त्यतिकै खटिएका देखिन्थे। दोस्रो खेलमा बुटवल लुम्बिनीसँग बराबरीमा रोकिएको विराटनगरले आफ्नो तेस्रो खेलमा एफसी चितवनलाई हरायो। विराटनगरको चौथो खेल थियो काठमाडौं रेजर्ससँग। त्यो खेलमा सुपर लिगमा अहिलेसम्मकै उत्कृष्ट खेल देखियो। दुई गोलले अघि रहेको विराटनगरलाई पछि पार्दै काठमाडौंले ५-४ ले खेल आफ्नो पक्षमा पार्‍यो। यही खेलमा सम्हालिन नसक्दा प्लेअफको यात्राबाट विराटनगर विस्तारै साइड लाग्दै गयो।

अनि पाँचौ खेलमा ललितपुर सिटीसँग जित्न पर्न दवाबका साथ उत्रिएको विराटनगरले खेलको स्पीरिट झनै जोगाउन सकेन। हुन त विराटनगरका प्रशिक्षक यान ल ले बारम्बार रेफ्रीको निर्णयमा प्रश्न उठाइरहेका थिए। हुन त प्रतियोगितामा रेफ्रीको निर्णयलाई लिएर प्रश्न अरु प्रशिक्षकले पनि उठाइरहेकै थिए तर यसमा ल अगाडि देखिन्थे।

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत १९ औं खेलमा ललितपुर सिटीले विराटनगर सिटीमाथि सहज जित निकाल्दै प्लेअफका लागि क्वालिफाई भएको थियो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न तनावपूर्ण खेलमा विराटनगरलाई ४-० गोलअन्तरले हराउँदै ललितपुरले प्लेअफको यात्रा सुनिश्चित गरेको थियो।

खेलमा अग्रता ललितपुरले ३६ औं मिनेटमा अञ्जन बिस्टको गोलमा गरेको थियो। त्यस्तै, विराटनगरका सर्वाधिक गोलकर्ता पेड्रो माञ्जीले लगातार हेण्डबलको अपिल गरेपछि पहेँलो कार्ड खाएका थिए।

पहिलो हाफमा एक गोलले अघि रहेको ललितपुरका लागि दोस्रो हाफमा विमल रानाले गोल थपे। उनले खेलको ६३ औं मिनेटमा गोल गरेका थिए। त्यसपछि खेलमा तनावको स्थिति उत्पन्न भएको थियो। विराटनगरका अफिसियलहरु झगडामै उत्रिएका थिए भने खेलाडीहरुलाई पनि मैदानबाहिर बोलाएका थिए।

पेड्रो माञ्जीलाई छाडेर अन्य विराटनगरका खेलाडीहरु मैदान बाहिर गएका थिए। झगडा साम्य पार्न एनएसएलका आयोजकहरु त्यहाँ पुगेका थिए। त्यसको केहीबेरमा खेल सुरु त भयो तर खेल सुरु हुनसाथ विराटनगरले फ्रिकिक जित्यो त्यसमा ललितपुरका खेलाडी असन्तुष्ट हुँदै रेफ्रीसँग अपिल गरे।

तर, खेलाडी खेलाडीबीच पनि केहीबेर तनावको स्थिति केहीबेर रह्यो। त्यस्तै खेलको ८५ औं मिनेटमा कप्तान रञ्जित धिमालको स्थानमा मैदान प्रवेश गरेका विजय धिमाल दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि विराटनगर १० खेलाडीमा सीमित भएको थियो।

ललितपुरका लागि तेस्रो गोल अन्जन विष्टले खेलको ८१ औं मिनेटमा गोल थपे भने नुर्लान नोब्रुजोभ अतिरिक्त समयमा गोल थप्दा खेल ललितपुरले आफ्नो पक्षमा पार्‍यो। खेलपछि पनि विराटनगरका प्रशिक्षक यान ल ले रेफ्रीको क्षमतामाथि प्रश्न उठाउँदै स्कुल स्तरको प्रतियोगिता गर्ने किसिमको भएको तर्क गरेका थिए।

नेपाल सुपर लिग अन्तर्गत शनिवार दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा गरेको ‘लफडा’लाई लिएर विराटनगर सिटी एफसीले माफीसमेत मागेको थियो। खेलको बीचमै खेलाडीहरुलाई मैदानबाहिर बोलाउने निर्णय खेलाडीको नभएर व्यवस्थापनको भएको भन्दै विराटनगरले माफी मागेको हो।

‘एउटा सुन्दर खेलको स्पीरिटलाई बिगार्ने हाम्रो इन्टेनसन थिएन’, विराटनगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्लबले समर्थक, शुभचिन्तक र फुटबल परिवारमा परेको ‘हर्ट’ लाई महसुस गरेको छ।’

यद्यपि घुमाउरो पारामा रेफ्रीको निर्णयलाई लिएर अझै असन्तुष्ट रहेको विराटनगरले स्पष्ट पारेको छ। प्रतियोगितामा आफ्नो क्लबमाथि भएका गलत निर्णयबारे अपिल गर्दा नसुनिएको भन्दै विराटनगरले उल्लेख गरेको छ: यसले एनएसएलको स्तर माथि लैजाँदैन।

एफसी चितवन

एफसी चितवनको एनएसएलमा पहिलो सिजन बिर्सनलायक रह्यो। पहिलो खेलमा ललितपुरसँग बराबरी खेलेको चितवनले दोस्रो खेलमा पनि बुटवल लुम्बिनीसँग बराबरी खेल्यो। यी दुई खेलमा जोडेको दुई अंक बाहेक चितवनले थप अंक जोड्न सकेन। त्यसपछि फराकिला हारको शृङखला सुरु भयो। धनगढीसँग आफ्नो तेस्रो खेलमा ३-० को फराकिलो हार ब्यहोर्‍यो भने चौथो खेलमा विराटनगरसँग २-० ले र पाँचौं खेलमा पोखरासँग २-१ ले पराजित भयो। त्यस्तै अन्तिम खेलमा काठमाडौं रेजर्ससँग २-१ गोलअन्तरले पराजय ब्यहोरेपछि जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो।

चितवनका मार्की खेलाडीसमेत रहेका कप्तान भरत खवासले मैदानमा आफ्नो कौशल देखाउन सकेनन्। त्यसैले सामाजिक सञ्जालमा आफूले चोटका कारण राम्रो प्रदर्शन गर्न नसकेको भन्दै अर्को पटक राम्रो गर्ने उल्लेख गरे।

‘नेपाल सुपर लिगमा एफसी चितवनको मार्की खेलाडी म भरत खवास ह्य्यामेस्ट्रीङ समस्याले पहिलो खेलबाट आफ्नो १००% दिन सकिनँ,’ उनले लेखेका छन्, ‘टिमले कप्तान साथै मार्की खेलाडी रुपमा जति म बाट अपेक्षा गरेको थियो, त्यो अनुरुप प्रदसन गर्न सकिन लिगभरी नै चोट सँग जुधिरहेँ।’

खवासले पराजयको पछाडि आफूलगायत टिमका अन्य महत्वपूर्ण खेलाडीहरुको चोटलाई कारण देखाएका छन्। त्यसको प्रत्यक्ष असर खेलमा परेकाले चितवनको तर्फबाट राम्रो प्रदर्शन हुन नसकेको उनले स्वीकारेका छन्।

‘हामीले अक्सनबाट जुन टिम बनाएको थियौँ। त्यो अनुरुप टिम बन्यो तर मलगायत मेरो टोलिको केही मुख्य खेलाडी घाइते भएको कारण लिग नै गुमाउनु पर्यो। यसको प्रत्यक्ष असर खेलमा पर्यो,’ उनले लेखेका छन्, ‘सम्पूर्ण टिमले सक्दो प्रयास गरेको थियौ तर त्यही अनुसार प्रदशन गर्न सकेनौं। आज लिगको अन्तिममा रहेर अन्त्य गर्‍यौँ। यसका लागि कप्तान साथै मार्की खेलाडी रुपमा म एफसी चितवन क्ल्बसँग पनि माफी माग्न चाहन्छु।’

उनले अगाडि लेखेका छन्: यो पहिलो सिजन भएकोले हामी हामीले धेरै कुरा सिक्ने अवसर पाएको छौ, अर्को सिजन हामी उत्कृष्ट ढङ्गले आउने छौ। साथै  मलाई तथा एफसी चितवनलाई माया गर्नुहुने सम्पुर्णलाई निराश नहुन आग्रह गर्दछु।'

पोखरा थण्डर्स  

सुपर लिगमा औसत प्रदर्शन गरेको अर्को टोली हो पोखरा थण्डर्स। आफ्नो अन्तिम खेल सकिएपछि पनि प्लेअफका लागि समीकरण कुरेर बसेको टोली हो पोखरा। तर बुटवल लुम्बिनीले आफ्नो अन्तिम खेलमा धनगढी एफसीलाई हराइदिएपछि प्लेअफमा पुग्ने पोखराको सपना पुरा हुन सकेन। लिग चरणको ६ खेलमा २ जित, २ हार र २ बराबरी खेल्दै लिग चरणबाटै बाहिरियो।

पहिलो खेलमा बुटवल लुम्बिनीलाई ०-२ ले पराजय ब्यहोर्दै प्रतियोगिताको सुरुवात गरेको पोखराले दोस्रो खेलमा भने विराटनगरलाई हराएको थियो। त्यस्तै तेस्रो खेलमा काठमाडौंसँग गोलरहित बराबरीमा रोकिएको पोखरा चौथो खेलमा ललिपुरसँग गोलरहित बराबरीमा रोकियो। पाँचौ खेलमा धनगढीसँग पराजय ब्यहोरेको पोखराले अन्तिम खेलमा एफसी चितवनमाथि जित निकालेको थियो।

पोखरा थण्डर्सका म्यानेजर सुजल श्रेष्ठ छोटो समयको तयारीका हिसाबले प्रतियोगितामा आफ्नो टीमको प्रदर्शनबाट सन्तुष्ट हुने देख्छन्। नेपाली राष्ट्रिय टोलीबाट खेल्दै आएको श्रेष्ठ अक्सनबाट पोखरा पुगेपनि चोटका कारण उनको भूमिका फेरियो। उनी म्यानेजरको रुपमा यो सिजनको सुपर लिगमा रहे।

पोखराको प्रदर्शनमा मुख्य खेलाडीहरुमा देखिएको चोटदेखि छोटो तयारी लगायतको कारणहरु उनी देख्छन्। यद्यपि प्लेअफमा पुग्न नसके पनि टीमको प्रदर्शन राम्रो भएको उनी मान्छन।  

त्यस्तै पोखराका कप्तानसमेत रहेका अनिल गुरुङले जारी सिजनमा राम्रो प्रदर्शन गर्न नसकेको बताउँदै अर्को सिजनमा राम्रो गर्ने सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

‘पोखरा थण्डर्सको कप्तान सम्पूर्ण पोखरेली र पोखरा थण्दर्सका समर्थकहरु माझ पोखरा थण्डर्स टोलीकोतर्फबाट माफी माग्न चाहन्छु। यहाँहरुले सोचे र चाहे अनुरुप प्रदर्सन हामीले दिन सकेनौ,’ गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी मा भएको कमिकमजोरी लाइ मध्यनजरमा राखी आउँदो साल हुने नेपाल सुपर लिगमा भरपुर मेहेनत गर्दै यहाँहरु लाइ खुशी बनाउने प्रतिबद्धता जनाउँद छु। आशा छ हजुर हरु को साथ् र माया निरन्तर रहिरहने छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell