काठमाडौं : नेपाल सुपर लिग एनएसएलमा आजबाट प्लेअफका खेलहरु सुरुहुँदै छ। आज हुने खेलमा लिग चरणका शीर्ष दुई टोली काठमाडौं रेजर्स र धनगढी एफसी प्रतिस्पर्धामा उत्रँदै छन्।
यसअघि ६ खेलमा ४ जित १ हार र १ बराबरी खेल्दै काठमाडौं १३ अंक जोडेर तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो। त्यस्तै दोस्रो खेलमा भने धनगढीसँग ३-० को फराकिलो हार ब्यहोरेको थियो। तेस्रो खेलमा पोखरा थण्डर्ससँग गोलरहित बराबरीमा रोकिएको काठमाडौं त्यसयता भने फर्ममा देखिएको छ। काठमाडौंले चौथो खेलमा बुटवल लुम्बिनी एफसीमाथि १-० को जित निकाल्यो भने अर्को खेलमा विराटनगर सिटीमाथि ५-४ सनसनीपूर्ण जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो। त्यस्तै लिगचरणको अन्तिम खेलमा एफसी चितवनलाई २-१ गोलअन्तरले हराएको थियो।
अर्कोतर्फ अट्याकिङमा राम्रो देखिएको सन्तुलित टोली हो धनगढी एफसी। विराटनगर सिटीसँग ३-० को पराजय ब्यहोर्दै प्रतियोगिताको सुरुवात गरेको धनगढीले दोस्रो खेलमा काठमाडौं रेजर्सलाई नै ३-० ले हरायो। त्यस्तै तेस्रो खेलमा ललितपुर सिटीसँग १-१ को बराबरी, चौथो खेलमा एफसी चितवनमाथि ३-० को जित, पाँचौं खेलमा पोखरा थण्डर्समाथि १-० को जित निकालेको धनगढीले अन्तिम खेलमा बुटवल लुम्बिनी एफसीसँग १-० को हार ब्यहोरेको थियो।
दुबै टिमको प्लेयर्स टु वाच बनाउने हो भने धनगढीका ओलावाले अफीज र काठमाडौंका मेसौके ओलोमोउलाई राख्न सकिन्छ। प्रतियोगिताको पहिलो ह्याट्रिक गरेका मेसौके सर्वाधिक गोल कर्तासमेत हुन्। उनले अहिलेसम्म ५ गोल गरेका छन्। पहिलो खेलमा ललितपुरविरुद्ध गोल गरेका उनले विराटनगर सिटीविरुद्धको खेलमा ह्याट्रिक गरे। त्यस्तै एफसी चितवनसँगको खेलमा अर्को गोल थप्दै उनी सर्वाधिक गोलकर्ताको सूचीमा सबैभन्दा अगाडि छन्। त्यस्तै उनलाई पछ्याउँदै छन् धनगढीका ओलावाले अफिज। प्रतियोगितामा ४ गोल गरिसकेका अफिजले पोखरासँगको खेलमा ३७ औं मिनेटमै चोट बोक्दै बाहिरिएका थिए। त्यसपछि बुटवल लुम्बिनी विरुद्धको खेलमा उनी मैदानमा उत्रिएनन्। अफीजले काठमाडौं विरुद्ध दुई गोल र ललितपुरविरुद्ध १ गोल र एफसी चितवनविरुद्ध १ गोल गरेका थिए। आजको खेलमा उनी मैदान उत्रिएको खण्डमा धनगढीको आक्रमण बलियो हुने देखिन्छ। अफिज चोट मुक्त भइसकेको र अन्य खेलाडीमा पनि चोटको समस्या नरहेको बताइएको छ।
त्यस्तै दुबै टीमका कप्तान गोलकिपर छन् र दुबैले प्रतियोगितमा राम्रो प्रदर्शन गर्दै आएका छन्। धनगढीका कप्तान नेपाली राष्ट्रिय टोलीका समेत कप्तान रहेका अनुभवी किरण चेम्जोङ छन् भने काठमाडौमा पनि अनुभवी विकेश कुथु छन्। विभागीय टोली त्रिभुवन आर्मी क्लबका नियमित गोलकिपर कुथु नेपाल १३ साग जित्दा नेपाली टोलीको नियमित गोलकिपर थिए।
प्लेअफको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा काठमाडौंका गोलकिपर विकेश कुथुले प्लेअफका लागि आफूहरु तयार भएको भन्दै आफ्नो बेस्ट दिने बताए। कप्तान र गोलकिपर दुबै भूमिका निभाउँदा जिम्मेवारी थपिएको महसुस हुने बताए। त्यस्तै काठमाडौं रेजर्सका प्रशिक्षक बालगोलपाल महर्जनले टिमको मनोबल उच्च रहेको भन्दै दिनप्रतिदिन टिमको स्तर सुधारिँदै गएकाले अगाडि पनि राम्रो हुने अपेक्षा रहेको बताए।
अर्कोतर्फ धनगढी एफसीका कप्तान किरण चेम्जोङले कम तयारीको बावजुत मानसिक रुपमा आफूहरु बलियो रहेको बताए। उनले आफ्नो टोली राम्रो भएकाले नै प्लेअफमा पुगेको भन्दै अगाडी लिग र नकाउटमा खेल फरक हुने बताए। त्यस्तै धनगढीका प्रशिक्षक तोफे फुजाले तयारी राम्रो भएको भन्दै गोल निकाल्नेमा केन्द्रीत हुने बताए।
आजको खेलमा जित निकाल्ने टोली सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टोलीले ललितपुर सिटी र वुटवल लुम्बिनी एफसीबीचको विजेतसँग इलिमिनेटरमा खेल्नेछ।
धनगढी र काठमाडौंबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
