PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

निषेधाज्ञामा भोकाएका कुकुरलाई खाना : युवाहरू भन्छन् 'हामी तिमीहरूलाई मर्न दिँदैनौं'

निषेधाज्ञामा भोकाएका कुकुरलाई खाना : युवाहरू भन्छन् 'हामी तिमीहरूलाई मर्न दिँदैनौं'

प्रवीण रानाभाट/पहिलोपोस्ट


निषेधाज्ञाका कारण सुनसान सडकमा कुकुरको संख्या ह्वात्तै बढेको देखिन्छ। ती कुकुरहरू मान्छे देख्दा भुक्ने, लखेट्नेलगायत आक्रामक व्यवहार देखाउन थालेका छन्। कारण – भोक।

सामान्य परिस्थितिमा मानिससँग घुलमिल हुने प्राणी हो कुकुर। मानिसले दया गरेर दिएको, होटल रेस्टुरेन्टमा बढी वा बासी भएको खाना खान्छन् सामुदायिक कुकुर। तर, सबै कुरा ठप्प हुँदा उनीहरू भोका छन्।

'लकडाउनमा मान्छे देखेनन्। कसैले खाइ नसकेर फालेको खाना पाएनन्। मान्छेले दिने माया पाएनन्। त्यसैको मानसिक तनाव हो कुकुरहरुको अस्वभाविक भुकाइ वा झम्ट्याइ,' पशु चिकित्सक दिलबहादुर ऐरले पहिलोपोस्टसँग बताए। उनका अनुसार भोक, तिर्खा र मानिस नदेखिनुकै कारण कुकुरको व्यवहारमा परिवर्तन देखिन्छ।

कुकुरहरू भोका नरहुन् र उनीहरूको आक्रमणको शिकार कुनै व्यक्ति बन्न नपरोस् भनेर 'एनिमल वेलफेयर नेपाल' नामक संस्थाले अभियान सुरु गरेको छ। जोरपाटीको यस समूहले सडकमा छाडिएका जनावरलाई खाना खुवाउन थालेका हुन्। आइतवार अभियानको औपचारिक सुरुवात भयो।

सुरुवाती चरणमा यस अभियान गोकर्णेश्वर नगरपालिकामा सीमित रहनेछ। नगरपालिका कार्यालयको समन्वयनमा अभियान बिस्तार गर्दै लग्ने संस्थाका प्रतिनिधिले बताए। अभियानको सुरुवात गर्दै गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले भने, 'लकडाउन प्रभावित मान्छेसँग जनावरहरूको बारेमा पनि सोच्नु मानव हुनुको धर्म हो। यस महान कार्यमा नगरपालिका र म व्यक्तिगत् रुपमा सहयोगका लागि सधैं प्रतिवद्ध रहन्छु।'  

 

'हामी तिमीहरूलाई मर्न दिँदैनौं' भन्ने नारासहित सुरु भएको यस अभियान लकडाउन अवधिभर निरन्तर अघि बढ्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell