काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप गरिएको निषेधाज्ञाको समय बुधवार रातिबाट सकिंदैछ। स्थानीय प्रशासनले वैशाख १६ गतेबाट जारी निषेधाज्ञा अझै थपिने भएको छ।
काठमाडौं उपत्यकाभित्र पछिल्लो केही दिनमा कोभिड संक्रमितको सङ्ख्या ह्वातै बढेको छ। जसको कारण पनि निषेधाज्ञा थप गर्नुपर्ने सम्बन्धित विभिन्न निकायले स्थानीय प्रशासनलाई सुझाव दिएका छन्।
मङ्गलवार बिहान ११ बजेतिर काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ। बैठकले केही अनौपचारिक छलफलपछि औपचारिक बैठक गरेर निषेधाज्ञा थप गर्ने तयारी गरेको छ। यस पटक निषेधाज्ञाको समय १० देखि १५ दिनसम्म थप गर्ने तयारी भइरहेको छ।
'बढ्दो संक्रमण हेरेर निषेधाज्ञा थप गर्नु पर्ने देखिएको छ। कति दिन थपिने भन्ने छलफल गर्छौँ। अन्य निकायबाट १५ दिनसम्म थप गर्नुपर्ने कुरा आएको छ,' जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले थप दुई साता निषेधाज्ञा गर्न सफारिस गरिसकेको छ। त्यस्तै काठमाडौं उपत्यकाभित्रका मेयरहरुले पनि थप १५ दिने निषेधाज्ञा गर्न सुझाव दिएका छन्।
पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाभित्र दैनिक ४ हजार भन्दा बढी संक्रमित थपिरहेका छन्। यस पटक थप गरिने निषेधाज्ञामा केही क्षेत्रलाई कडाइ गर्ने तयारी भइरहेको छ। विवाह तथा व्रतबन्ध तथा धार्मिक कार्यक्रमका कारण संक्रमण फैलिएको विभिन्न निकायबाट सुझाव आएपछि विवाह तथा व्रतबन्धलाई थप कडाइ गर्ने तयारी भइरहेको हो। तर त्यसलाई कसरी कडाइ गर्ने भन्ने कुनै निष्कर्ष निकालिएको छैन।
'गर्नै नदिने भन्ने होइन। अझै सङ्ख्या घटाउने र नगरी नहुनेमा सामान्य टिकाटालोमा मात्र समिति राख्ने भन्ने विषयमा छलफल भइरहेको छ,' काठमाडौं जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले भने।
त्यस्तै बिहानको तरकारी तथा फलफूल किन्ने समयमा मानिसको भीड जम्मा भएकाले त्यहाँबाट पनि कोरोना संक्रमण फैलिएको भन्दै यसलाई रोक गर्ने एक पक्षले माग गरिरहेका छन्। तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी यस विषयमा के गर्ने भन्ने दुबिधामा छन्।
तरकारी र फलफुल अत्यावश्यक विषयमा पर्छ।
'केही साथीहरूले यसलाई पूर्ण रोक्नु पर्छ भन्नु भएको छ। तर यसो गर्दा आम मानिसको भान्छामा नै असर पर्ने देखिन्छ। त्यसैले यसलाई के गर्ने भन्ने विषयमा छलफल भएको हो,' प्रमुख जिल्ला अधिकारी पराजुलीले भने।
यसअघि थपिएको निषेधाज्ञामा तरकारी तथा खाद्यान्न पसलहरूलाई बिहान ७ बजे देखि ९ बजेसम्म मात्र खोल्न दिएको थियो। पहिलो पटकको निषेधाज्ञामा यसअघि भने बेलुका ५ देखि ७ बजेसम्म खोल्न दिएको थियो।
