PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

सिंगो देश नै ठप्प : ६ बाहेक सबै जिल्लामा निषेधाज्ञा, गहिरिँदो कोरोनाको कहर



पहिलोपोस्ट

सिंगो देश नै ठप्प : ६ बाहेक सबै जिल्लामा निषेधाज्ञा, गहिरिँदो कोरोनाको कहर

काठमाडौं : यतिखेर देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख १३ गतेदेखि सुरु भएको निषेधाज्ञा मंगलवार बिहानसम्म आइपुग्दा ७१ वटा जिल्लामा विस्तार भएको छ।

देशभर कोरोना संक्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेको छ। त्यस्तै आन्तरिक तथा बाह्य हवाई उडान समेत बन्द छन्। छिमेकी देश भारतसँग भने सातामा दुई वटा फ्लाइट जारी नै छ। भारत र चीनबाट नेपाल प्रवेश गर्ने नाकामा समेत कडाई गरिएको छ। उद्योगधन्दा, कलकारखानादेखि व्यापार व्यवसाय सबै बन्द हुँदा देश नै ठप्प झैं भएको छ।

काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमति थपिने दर ह्वातै बढेको छ। काठमाडौंका तीनवटै जिल्ला संक्रमणको हिसावले अति प्रभावित जिल्लामा छन्। त्यसैले पनि काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञा दुई साता थपिएको छ। तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले मंगलबार अर्को दुई साता निषेधाज्ञा गर्ने निर्णय गरेका हुन्। यस पटकको निषेधाज्ञामा बिहेलाई पनि कडाई गरिएको छ।

काठमाडौं उपत्यकामा मात्र होइन संक्रमण बढ्दै गएपछि अहिले अन्य जिल्लामा पनि निषेधाज्ञा हुन थालेको छ। पछिल्लो समय सोलुखुम्बु र लमजुङ्मा समेत निषेधाज्ञा जारी गरिएको छ। लमजुङसँग जोडिएको जिल्ला मनाङमा भने निषेधाज्ञा छैन। मुस्ताङ पनि निषेधाज्ञा नभएको जिल्लामा पर्छ।

अहिले ६२ वटा जिल्लामा पूर्णरुपमा निषेधाज्ञा गरिएको छ। त्यस्तै बाँकी ९ वटा जिल्लामा संक्रमितको सङ्ख्या हेरेर निश्चित क्षेत्रमा निषेधाज्ञा गरिएको गृह मन्त्रालयको तथ्याङ्कले देखाएको छ। सप्तरी, धनकुटा, सिन्धुपाल्चोक, इलाम, म्याग्दी, ताप्लेजुङ्, रामेछाप, मकवानपुर र काभ्रेमा भने आंशिक रुपमा निषेधाज्ञा गरिएको छ।

अधिकांश जिल्लामा वैशाख १६ गतेपछि निषेधाज्ञा गरिएको हो। २० भन्दा बढी जिल्लाहरुमा निषेधाज्ञाको समय थप समेत गरिएको छ। बाँके, सुर्खेत, कैलालीदेखि काठमाडौंका तीनवटै जिल्ला निषेधाज्ञा थप हुने जिल्लाहरुमा पर्छन्।

निषेधाज्ञा गरिए पनि काठमाडौं लगायत अन्य जिल्लमा संक्रमित थपिँदै गएका छन्। काठमाडौं उपत्यकाभित्र देशभर थपिएका संक्रमितमध्ये ४० प्रतिशत भन्दा बढी छन्।

'निषेधाज्ञा नगरेको भए झनैं संक्रमित थपिन्थे। निषेधाज्ञाले कम गरेको छ। त्यसैले अझैं निषेधाज्ञाको समय बढाउने तयारी भएको हो,' काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।

पछिल्लो केही दिनमा दैनिक ८ हजार ५ सयभन्दा बढी कोरोना संक्रमति थपिएका छन्। मृत्यु दर पनि ह्वात्तै बढेको छ। अस्पताल भरिभराउ छ। तर, अन्य क्षेत्र भने ठप्प छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell