PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

७ सयको अक्सिमिटर २२ सय रुपैयाँमा बिक्री गर्दा समातिए, चीनबाट मास्कको डोरीमा लुकाएर थिए ल्याएका



पहिलोपोस्ट

७ सयको अक्सिमिटर २२ सय रुपैयाँमा बिक्री गर्दा समातिए, चीनबाट मास्कको डोरीमा लुकाएर थिए ल्याएका

काठमाडौं : देशभर कोरोना संक्रमण बढ्दै जाँदा कोरोना रोकथाम तथा उपचारको लागि प्रयोग हुने सामाग्रीमा चर्को कालोबजारी हुन थालेको छ। पछिल्लो समय अक्सिजन लेभल नाप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारी भइरहेको छ।

७/८ सय रुपैयाँ पर्ने अक्सिमिटरलाई ३५ सय रुपैयाँसम्म लिएर बिक्री गर्ने गरेको पाइएको हो। प्रहरीले कालोबजारी गर्नेलाई पक्राउ तथा कारबाही पनि गरिरहेको छ। महानगरीय अपराध महाशाखाको टोलीले अक्सिमिटर कालोबजारी गर्ने सात जनालाई हालै पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बायोप्लस फर्माका संचालक २९ वर्षीय शिखर श्रेष्ठ, बाजुरा घर भएका २१ वर्षीय थुमराज उपाध्यय, नानोटेक फर्माका संचालक २७ वर्षीय शेषकान्त अधिकारी, चिरायू केडी ग्रुपका ३९ वर्षीय पुष्कर घिमिरे, अहा इन्डष्ट्रिज प्रालिका संचालक ४४ वर्षीय विशाल आचार्य, सिन्धुपाल्चोक घर भएका २१ वर्षीय सन्तोष भण्डारी र भारत राजस्थान घर भएका ५५ वर्षीय जगदीशप्रसाद रानासरिया रहेका छन्।

प्रहरीले उनीहरुको विभिन्न फर्मा तथा औषधी पसलबाट ७ सय ६५ थान अक्सिमिटर बरामद गरेको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए। प्रहरीले बरामद गरेको केही अक्सिमिटर नक्कली र कम गुणस्तरको समेत भएको खुलेको छ।

त्यस्तै, अहा इन्डष्ट्रिज प्रालिका संचालक ४४ वर्षीय विशाल आचार्यले डी एण्ड डी इन्टरप्राइजेज, न्युरोड मार्फत् चीनबाट मास्कको डोरी ल्याउँदा सोही तुनाको बक्साभित्र लुकाएर ल्याएको खुलेको छ। उनीहरुले ६/७ सय पर्ने अक्सिमिटर २२ सय भन्दा बढी मूल्यमा बिक्री गर्ने गरेको खुलेको छ।

पक्राउ परेका सबैलाई कालोबजारी ऐन अन्तर्गत कारवाहीको प्रकृया अगाडि बढाएको छ। साथै, अन्यको संलग्नताबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell