कैलाली : कैलालीमा जारी निषेधाज्ञालाई थप कडा पारिने भएको छ। वैशाख २८ गतेसम्म जारी भएको निषेधाज्ञा अवधि जेठ ६ गतेसम्म लम्ब्याएर थप कडा पार्ने निर्णय भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ।
कोरोना संक्रमण र मृत्युदर निषेधाज्ञायता झन् बढेको भन्दै अब हप्ताको ४ दिन अत्यावश्यक कामका लागिसमेत बाहिर हिँडडुल गर्न रोक लगाउने निर्णय गरिएको हो।
हप्तामा तीन दिन मङ्गलवार, बिहीबार र शनिवार बिहान ६ देखि ९ बजेसम्ममात्रै अत्यावश्यक सेवा तथा वस्तुका लागि हिँडडुल सहज बनाइने र त्यसबाहेक अरू दिन निषेधाज्ञा कडा पारिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
अब जिल्लामा बैङ्क तथा वित्तीय संस्थालाई समेत राजश्व दाखिला र सरकारी कारोबार बाहेक बन्द गरिने भएको छ। तर बैङ्क तथा वित्तीय संस्थाहरूले अत्यावश्यक भुक्तानीको लागि एटिएम तथा विद्युतीय प्रणालीबाट सेवा प्रवाहको समुचित प्रबन्ध गर्नुपर्ने छ।