PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जनमोर्चा सांसदले साथ नदिएसँगै गण्डकीमा विपक्षीलाई बहुमत पुर्‍याउन कठिन, एक मतको खेलले गुरुङ दोहोरिन सक्ने



रिना थापा

जनमोर्चा सांसदले साथ नदिएसँगै गण्डकीमा विपक्षीलाई बहुमत पुर्‍याउन कठिन, एक मतको खेलले गुरुङ दोहोरिन सक्ने

पोखरा : गण्डकी प्रदेशको सत्ता समीकरणमा निर्णायक राष्ट्रिय जनमोर्चाले नयाँ सरकार गठनमा समर्थन नगर्ने भएको छ। जनमोर्चाका संसदीय दलका नेतासमेत रहेका सांसद कृष्ण थापाले नेपाली कांग्रेसको नेतृत्वमा प्रस्तावित नयाँ गठबन्धनलाई सहयोग गर्न नमानेका हुन्। उनको निर्णयसँगै सरकार बनाउन विपक्षी गठबन्धनलाई बहुमत नपुग्ने निश्चित भएको छ।

जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले एक सांसदले विपक्षी गठबन्धनका पक्षमा हस्ताक्षर गर्न इन्कार गरेको बताए। विपक्षीको पक्षमा मतदान गर्ने निर्णय लिन आज जनमोर्चाको संसदीय दलको बैठक बसेको थियो। तर उक्त बैठकले निकास लिन नसकेको अध्यक्ष बरालले बताए।

‘हस्ताक्षरको मुठो परेन। अब केही मान्छेहरू यस्ता पनि हुन्छन् समाजमा। जो मान्छेलाई कसैले वारेष्ट दिन्छ नि। त्यसले आफैलाई मालिक ठान्छ,’ बरालले असन्तुष्टि पोखे। जनताभन्दा आफू मालिक हौ भन्ने सोचेपछि आउने प्रतिफल यस्तै हुने उनको आक्रोश थियो।

उनले बहुमतको सरकार बन्न पार्टीको सर्मथन हुँदाहुँदै पनि केही सांसदको अटेरीले बनाउन नसकिने अवस्था आएको पनि बताए।

जनमोर्चाले काँग्रेस नेतृत्वको गठबन्धनलाई सहयोग गर्न सोमबार नै ह्वीप जारी गरेको थियो। यसअघि जनमोर्चाका सांसद खिमविक्रम शाहिले काँग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्न आनाकानी गरेका थिए। तर अहिले जनमोर्चाका दुई सांसद शाही र पियारी थापाको हस्ताक्षर संकलन भइसकेको बेला संसदीय दलका नेता समेत रहेका सांसद थापा भने काँग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्न नमानेका हुन्।

थापाले साथ नदिएपछि नयाँ सरकार गठनको लागि बहुमत नपुग्ने भएको छ। प्रदेशमा नयाँ सरकारका लागि ३१ सांसद आवश्यक छ।

अघिल्लो आइतबार मुख्यमन्त्रीले राजीनामा दिएसँगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनभित्र नयाँ सरकार गठनको आह्वान गरेकी थिइन्। विपक्षीले बुधवार अपराह्न ४ बजेसम्म ३१ सांसदको हस्ताक्षर बुझाउनु पर्छ।

हस्ताक्षर बुझाउन नसके प्रदेश प्रमुखले ठूलो दलका नेतालाई मुख्यमन्त्री बनाउन पाउने प्रावधान छ। यस हिसाबले पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री पदमा नियुक्त हुन सक्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell