PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

जनमोर्चाका कारण बहुमत नपुगेको विपक्षी गठबन्धनले के गर्छ? मुख्यमन्त्रीका दाबेदार भन्छन्, ‘सिनारियो दोहोरिन्छ’



रिना थापा

जनमोर्चाका कारण बहुमत नपुगेको विपक्षी गठबन्धनले के गर्छ? मुख्यमन्त्रीका दाबेदार भन्छन्, ‘सिनारियो दोहोरिन्छ’

पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सरकार गठनमा राष्ट्रिय जनमोर्चाले सर्मथन नगरे विधानअनुसार चल्ने बताएका छन्।

सत्ता गठबन्धनका लागि निर्णायक जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले समर्थन नदिँदा विपक्षी गठबन्धन बहुमतमा पुग्न नसकेपछि मुख्यमन्त्रीका दावेदार विपक्षी दलका नेता पोखरेलले समर्थन नआए विधानअनुसार चल्ने बताएका हुन्। आफूहरुसँग बुधबारसम्मको समयवधि रहेको कारण अझै केही प्रयत्न रहेको उनको भनाइ छ।

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि जनमोर्चाको मत निर्णायक छ। तर आन्तरिक रुपमा विभाजित भएको जनमोर्चाका सांसदले सरकार गठनमा सहमति गरेका थिएनन्। सरकार गठनमा सर्मथन जुटाउन मंगलबार जनमोर्चाको संसदीय दलको बैठक बस्यो। बैठकमा सांसद थापाले कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनलाई सर्मथन नगर्ने घोषणा गरे। यसले प्रदेशमा पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री पदमा नियुक्त बन्ने सम्भावनालाई बढाएको छ।

सांसद थापाको उक्त निर्णयले विपक्षीलाई सकसमा पारेको छ। थापाको निर्णयमा पोखरेलले भने, ‘अब माननीयज्यूले मान्नु भएन। तर अझै पनि हाम्रो प्रत्यन जारी छ। भोलिको समयावधिसम्म प्रयत्न हुन्छ, भएन भने विधानअनुसार जाँदा ठूलो दलको नेता आउनुहुन्छ।’

सांसद पोखरेलले अहिले सरकार गठनमा सर्मथन नआएर ठूलो दलको मुख्यमन्त्री आए पनि उनलाई विश्वासको मत नदिने संकेत गरे। ‘विधान र प्रक्रिया अनुसार उहाँ आउनुहोला। उहाँले पनि विश्वासको मत लिनुपर्छ। फेरि त्यस्तै त्यस्तै सिनारियो आउँछ,’ उनले भने।

आइतबार मुख्यमन्त्रीको राजिनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनभित्र सरकार गठन आह्वान गरेकी छन्। नियम अनुसार विपक्षीले ३ दिनभित्र ३१ सांसदको हस्ताक्षर बुझाउन नसके प्रमुखले ठूलो दलको नेतालाई मुख्यमन्त्री बनाउने छिन्।

प्रदेशमा ६० सदस्यीय सांसदमा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन्। एक सांसद स्वतन्त्र हुन्। जनमोर्चाको सर्मथन पाए नयाँ सरकारका लागि ३१ सांसद पुग्ने छ। अहिले जनमोर्चाका १ सांसदले सर्मथन नगर्दा सरकार गठनमा १ मत मात्र अपुग बनेको हो। यदि जनमोर्चाको सर्मथन पाए काँग्रेस नेतृत्वमा कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell