काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन तीव्र गतिमा बढ्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म देशभर संक्रमितहरुको संख्या ४ लाख १३ हजार १११ पुगेको छ।
संक्रमितहरुको संख्या बढ्दै जाँदा व्यवस्थापनमा पनि समस्या आएको छ। सबैजसो अस्पतालहरु कोरोना संक्रमितहरुले भरिएका छन्। अस्पतालमा बेड नपाउँदा संक्रमितहरु अस्पताल बाहिर नै पनि उपाचार गर्न बाध्य छन्।
कोरोना संक्रमणले काठमाडौं उपत्यकामा सबैभन्दा धेरै प्रभाव पारको छ। उपत्यकाका सबैजसो अस्पतालहरुमा बिरामीको चाप छ। उपत्यकामा दैनिक करिब ३ हजारको संख्यामा संक्रमित पहिचान भइरहँदा अस्पतालमा बेड र अक्सिजन खोज्दै गर्दा संक्रमितको ज्यान जाने र अवस्था गम्भीर हुने क्रम बढेको छ।
त्रिवि शिक्षण अस्पतालको अवस्था पनि उस्तै छ। अस्पताल बाहिर पनि संक्रमितलाई उपचार गरिएको छ। अस्पतालमा बेड नपाएर बिरामीहरु घण्टौँसम्म एम्बुलेन्समै बस्नुपर्छ भने कतिपयलाई त फर्कनुपर्ने बाध्यता पनि छ।
यस्तो अवस्थामा कतिपय अस्पतालहरुले अब संक्रमितको उपचार गर्न सक्दैनौँ भनेर हात उठाइसकेका छन्। संक्रमितले उपचार नपाउँदा मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। कोरोनाका कारण आज थप २२५ जनाको मृत्यु भएको छ।
कोरोनाका कारण मृत्यु भएकाहरुलाई नेपाली सेनाले पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने गरेको छ। संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दा पशुपतिमा पनि चाप बढेको छ।
