PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

उपत्यकाका सरकारी डाक्टरले भने, ‘नेपालको स्वास्थ्य प्रणाली नै ध्वस्त भइसक्यो, एक वर्ष के हेरेर बसेको थियो सरकार?’



पहिलोपोस्ट

उपत्यकाका सरकारी डाक्टरले भने, ‘नेपालको स्वास्थ्य प्रणाली नै ध्वस्त भइसक्यो, एक वर्ष के हेरेर बसेको थियो सरकार?’

काठमाडौं: कोभिड-१९ महामारी तीव्र गतिमा फैलिरहेका बेला काठमाडौं महानगरपालिकाले मंगलबार जिल्लाभित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँग छलफल गरेको छ। कोभिड नियन्त्रणको प्रतिकार्य कमजोर भइरहेका बेला महानगरले अग्रसरता देखाएको हो।

छलफलमा चिकित्सकहरुले स्वास्थ्य प्रणाली नै कोल्याप्स भइसकेको बताएका छन्। स्वास्थ्य नीति परिवर्तनको सुझाव पनि उनीहरुले दिएका छन्।

छलफलमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याप्स भएको भन्दै स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिए।

सरकारले कोभिड उपचारका लागि तोकेका अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन नसकेको, अस्पतालमा बेड संख्या बढाउने कार्य भाषणमा मात्रै सीमित भएको र जिम्मेवार निकायले दायित्व पूरा गर्न नसकेका कारण कोभिड संक्रमित लगायत समग्र स्वास्थ्य उपचारको स्थिति जटिल बन्दै गएको उनको भनाई छ।

अधिकारीले भने, ‘हाम्रो हेल्थ सिस्टम कोल्याप्स भइसकेको छ। यसको उदाहरण मेरो अस्पतालको दिन्छु। हामीलाई नेपाल सरकारले तिमी मुटुको बिरामी हेरिदेउ र मुटुका बिरामीलाई यदि कोभिड लाग्यो भने त्यसको जिम्मा लेउ भन्यो। म अहिले पनि लिन सक्छु। तर अर्को हस्पिटलले कोभिड मात्रै भएका विरामीलाई जिम्मा लिइदिओस्? तर कसैले पनि जिम्मा लिन सक्दैन अहिले। किनभने हाम्रो सिस्टम कोल्याप्स भइसकेको छ।’

‘हामीले जति बेड बनाउनुपर्ने त्यो बेड बनाउन सक्ने अवस्थामा नै छैनौं। स्वास्थ्य मन्त्रालयले कोभिडको पहिलो वेभ आएको बेलामा नै सम्पूर्ण सरकारी अस्पतालका निर्देशकलाई बोलाएर कति बेड व्यवस्थापन गर्न सक्छौ भनेर भन्नुपर्थ्यो। बेड व्यवस्थापन गर्ने कुरा एक दिनको कुरा होइन। म दु:खका साथ भन्छु। वीर अस्पतालको ५ सय शय्याको छ तर सञ्चालन गर्न नसक्नु अहिलेसम्म भनेको लाज मर्नुको अवस्था हो। हामी के हेरेर बसिरहेका छौं? हाम्रा बिरामी इमर्जेन्सी बाहिर बसिरहेका छन्। ५ सय शय्याको वीर अस्पताल टुलुटुलु हेरेर बस्नुपर्ने। यसको जिम्मा कस्ले लिने? यो मिटिङ १ बर्ष अगाडि सुरु गर्नु पर्थ्यो,’ अधिकारीले आक्रोश पोखे।

उनले उपचारको लागि नीति परिर्वतन गर्नुपर्ने आवश्यकता औँल्याए। बेड बढाउने विषय नै मुख्य व्यवस्थापन रहेको भन्दै उनले ७० वर्षभन्दा माथिकालाई भेन्टिलेटरमा नराख्ने भन्ने निर्णय लिनुपर्ने अवस्था आएको बताए। उनले वीर अस्पताल एक बर्षसम्म किन सञ्चालन गर्न सकिएन भनी प्रश्न दोहोर्‍याए।

सबै अस्पतालहरुमा भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आइसियु), हाइ डिपेन्डेन्सी युनिट (एचडियु) बिरामीले भरिएको अवस्था रहेकाले तत्काल अन्य कोभिडका बिरामीको उपचार गर्न सक्ने अवस्था नरहेको उनको भनाई छ।

अधिकारीले भने, ‘हाम्रो अस्पताल कोभिड अस्पताल थिएन। अब हाम्रो अस्पताल कोभिड अस्पताल भइसक्यो। अहिले थप गरेर २१ वटा आइसियू बनाएका छौँ। अब हाम्रोमा कुनै पनि आइसियू छैन। इमर्जेन्सीलाई पनि फुल कोभिड बनाएका छौँ। हामीले अर्को अस्थायी किसिमको संरचनालाई इमरजेन्सी बनाउनु परेको छ। अहिले मलाई एउटा फोन आइरहेको थियो एकजना मुटुसम्बन्धी रोग लागेको बिरामीलाई लिइदिनुस् भनेर। हामीले लिन सक्ने अवस्थामा छैनौं। ९० वटा सिलिण्डर प्रतिदिन प्रयोग गर्ने गरेकोमा अहिले हामीले १८५ सिलिण्डर प्रतिदिन प्रयोग गरिरहेका छौं।’

वीर अस्पतालकी निमित्त निर्देशक शान्ता सापकोटाले अक्सिजनको अभावका कारण अपेक्षित ढंगले काम गर्न नसकेको बताइन्। उनले ५ सय शय्याको अस्पताल भवन हस्तान्तरण नभइसकेकाले भवन सञ्चालन भएन भनेर भन्न नमिल्ने तर्क गरिन्। भवन निर्माण भएर हस्तान्तरण भइसकेको अवस्था नरहे पनि आफूहरुले ३ सय बेडको व्यवस्था गरिसकेको उनको भनाई थियो।

सापकोटाले भनिन्, ‘भवन निर्माण भएर हस्तान्तरण भइसकेको अवस्था होइन। तर हामीले ३ सय बेडको व्यवस्था गरिसकेका छौँ। अक्सिजन प्लान्टबाट दैनिक १५० सिलिण्डर उत्पादन हुन्छ। दुईवटा भवनमा गरेर ३ सय सिलिण्डर प्रतिदिन खपत भइरहेको छ। तर सप्लायर्सले १२३ सिलिण्डर भन्दा बढी दिँदैन अनि मैले कसरी गर्न सक्छु?’

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले तोकेका डेडिकेटेड कोभिड अस्पताललाई बिरामीको उपचारका लागि आवश्यक पर्ने स्रोत साधनमा सहयोग गर्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘महामारी रोक्न कस्ता सामाग्री तथा उपकरण आवश्यक पर्छन्। तिनको बजारमा उपलब्धता कस्तो छ? यसै भन्न सकिने अवस्था छैन। तर, महामारी नियन्त्रणमा हामीले हात उठाउन मिल्दैन। उपलब्ध साधनको उच्चतम उपयोग गरेर महामारी रोकौँ। हाम्रो प्राथमिकता भनेको संक्रमण र यसबाट हुने मानवीय क्षति रोक्नु हो। यसका लागि तपार्ईंहरुलाई आवश्यक पर्ने थप स्रोतमा हामी सहयोग गर्छौँ।’

उनले चर्चा कमाउन नभई अस्पतालमा परेको विरामीको चाप घटाउन आइसोलेसनको भूमिका हुनुपर्ने बताए। अन्य थप संयन्त्र बनाएर भन्दा अस्पतालहरुको क्षमता बढाएर महामारी नियन्त्रण गर्न सजिलो हुने उनको भनाई थियो। 

छलफलमा त्रि. वि. शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्ले, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. अधिकारी, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी, निजामती कर्मचारी अस्पतालका निर्देशकहरु डा. विधाननिधि पौडेल र डा. विमलकुमार थापासहितका चिकित्सक सहभागी थिए।

सहभागीहरुले अक्सिजन व्यवस्थापनमा देखिएको कठिनाइ, जनशक्तिलाई प्रोत्साहन र व्यक्तिगत सुरक्षा सामाग्रीको पर्याप्त उपलब्धताको साथै आपतकालीन सेवाका लागि सामान खरिद गर्न खरिद सम्बन्धी प्रक्रिया लामो भएकाले सहजीकरण गर्न आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell