PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

कर्णालीका अस्पताललाई बिरामी रिफर गर्नुपर्ने बाध्यता : जनशक्ति नहुँदा भेन्टिलेटर थन्किए, अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाई



पी बी खड्का

कर्णालीका अस्पताललाई बिरामी रिफर गर्नुपर्ने बाध्यता : जनशक्ति नहुँदा भेन्टिलेटर थन्किए, अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाई

सुर्खेत : नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिरहेको छ। संक्रमण पुष्टि हुने दर प्रतिदिन उकालो लागिरहँदा सरकारले संक्रमणको चेन ब्रेक गर्न देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लागू छ।

निषेधाज्ञा लागू गरिएपनि हाल संक्रमिणको दर अझै घटेको भने छैन। जसले गर्दा पनि रोकथाम तथा नियन्त्रण र उपचारलाई थप जोड दिनुपर्ने अवस्था छ। संक्रमण तीव्र गतिमा फैलिएसँगै लक्षणसहितका जटिल प्रकृतिका बिरामीलाई अक्सिजनको सहायतामा आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने अवस्था छ।

कर्णालीमा कोरोना संक्रमण दर हिमाली तथा पहाडी जिल्लाहरुमा थप उकालो लागिरहेको छ नै त्यसको नियन्त्रणको पूर्व तयारी र स्वास्थ्य पूर्वाधार भने निकै कमजोर छ। गत वर्ष नै आईसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्ट सञ्चालन गर्ने भनिएपनि प्रदेशका दश वटै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छैन भने आईसीयू र भेन्टिलेटर जडान गरिएपनि सञ्चालन हुन सकेका छैनन्।

‘गत वर्ष नै जडान भएका हुन् आईसीयू र भेन्टिलेटर अहिले प्राविधिक जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन’, स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख अमरसिंह शाहीले भने, ‘अहिले अक्सिजन सिलिण्डरले काम चलाइरहेका छौँ। अक्सिजन प्लान्ट जडानको तयारीमा छौँ।’

संक्रमण थप फैलिए र जटिल भए अहिलेकै बेड र अक्सिजनले थेग्न नसकिने भन्दै रिफर गर्नुको विकल्प नभएको उनी बताउँछन्।

शाहीले भने, ‘सामान्य लक्षण नभएका बिरामीहरु राख्छौँ, अलि गम्भिर खालका बिरामी त सुर्खेत, नेपालगञ्ज, काठमाडौं रिफर गर्नुको विकल्प छैन।’

जिल्लामा उपलब्ध स्रोत साधन अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा जुटिरहेको उनको भनाइ छ।

डोल्पामा दुई वटा आईसीयू, एक भेन्टिलेटर र १५ वटा अक्सिजन सिलिण्डर छन्। दोस्रो लहरको संक्रमणबाट हाल डोल्पामा सक्रिय बिरामी ४५ जना उपचाररत छन् भने एक जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, जाजरकोटमा २७ वटा आईसीयू बेड रहेकोमा हाल १६ वटा मात्रै सञ्चालन हुने अवस्थामा छन्। स्वास्थ्य सेवा कार्यालयका अुनसार बाँकी तत्काल सञ्चालनमा आउने अवस्था छैन। जाजरकोटमा भेन्टिलेटर एउटा छ तर, सञ्चालनमा आउन सक्ने अवस्था भने छैन। हाल जाजरकोटमा ३८ वटा सिलिण्डर छन् भने आलोपालो गरेर नेपालगञ्ज नै पुर्‍याएर भर्नुपर्ने अवस्था छ।

हाल जाजरकोटमा संक्रिय संक्रमितको संख्या दुई सय ८८ पुगिसकेको छ भने एक जनाको मृत्यु भएको छ।

यता, सुर्खेतपछि संक्रमणको उकालो लागेको सल्यानमा पनि पूर्वाधार निकै कमजोर छ। जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख दशरथ श्रेष्ठका अनुसार हाल सल्यानमा दुई वटा आईसीयू र दुई वटा भेन्टिलेटर बेड छन् भने २९ वटा अक्सिजन सिलिण्डर छन्। जहाँ अहिले आठ सय बढी संक्रिय संक्रमित छन्। अक्सिजन प्लान्ट जडानको तयारी भइरहेको उनको भनाइ छ।

हुम्लामा तीन आईसीयू र एक भेन्टिलेटर छन्। त्यहाँ पनि जनशक्ति नभएकै हुँदा त्यसै थन्किएका छन् भने जटिल प्रकृतिका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता छ। अहिले जिल्लामा १८ वटा अक्सिजन सिलिण्डर जोगाड गरिएको छ भने अक्सिजन प्लान्ट स्थापनाको तयारी छ। 

त्यस्तै, कालिकोटमा अहिले आठ वटा आईसीयू बेड र चार वटा भेन्टिलेटर बेड छन्। तर, सञ्चालनमा भने छैन। अक्सिजन प्लान्ट पनि स्थापना भइसकेको छ। तर, हाल असिक्जन उत्पादन भने हुन सकेको छैन।

‘पछिल्लो समय संक्रमण फैलिरहेको छ, अहिले हामीसँग आईसीयू, भेन्टिलेटर चलाउन सक्ने प्राविधिक छैन’, जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कटकबहादुर महतले भने, ‘लक्षण सहितका जटिल बिरामी देखिए भने यहाँ राखेर उपचार गर्ने सम्भावना कम छ।’

हाल कालिकोटमा संक्रिय संक्रमितको संख्या तीन सय ६९ जना पुगेका छन्। प्रदेशका जिल्ला अस्पतालमा जडान गरिएका आईसीयू र भेन्टिलेटर उपयोगमा आउनुपर्ने बेला दक्ष प्राविधिक जनशक्ति नभएरै थन्किएका छन् भने अक्सिजन प्लान्ट अवस्था पनि उस्तै छ। बरु भएका सिलिण्डर अन्यत्र पठाएर भर्ने गृहकार्यमा जुटेका छन्। केही अस्पताल भने सहयोगी दाताको भर परेका छन्।

गम्भिर प्रकृतिका बिरामीकै उपचारका लागि कर्णालीमा रहेका १४७ बेड आईसीयू छन् भने ३५ बेड भेन्टिलेटर जडान गरिएका छन्। स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मात्रै अक्सिजन प्लान्ट, आईसीयू, र भेन्टिलेटर फुल फेजमा सञ्चालनमा छन्। दक्ष प्राविधिक जनशक्ति भने चार जना मात्रै छन्। प्रदेश सरकारले गतवर्षदेखि हालसम्म स्वास्थ्यको पूर्वाधार ठड्याउनकै लागि एक अर्ब बढी रकम खर्च गरिसकेको छ।

जनशक्तिको जोहो गरी करोडौँ मूल्यमा खरिद गरिएका स्रोत साधनलाई जति सक्यो छिटो सञ्चालन गनुपर्ने र जिल्लास्थित अक्सिजन प्लान्टलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने पूर्वमन्त्री एवं कर्णाली प्रदेश सभा सदस्य दल रावलको भनाइ छ।

‘महामारीको रुपमा डरलाग्दो तरिकाले हिमाली जिल्लाहरु हुम्ला, मुगु डोल्पामा फैलिसकेको छ’, उनले भने, ‘जनताको जिउ, ज्यानको सुरक्षा गर्नुपर्ने राज्यको पहिलो दायित्व हो, त्यसैले स्थानीय, प्रदेश र संघीय सरकारले उचित समन्वय र सहकार्य गरेर ट्रिटमेन्टलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ।’

हाल कर्णालीमा दरबन्दीको एक तिहाई जनशक्ति मात्रै पदपूर्ति भएको स्वास्थ्य सेवा निर्देशनालका निर्देशक डा रविन खड्काले जानकारी दिए। कर्णालीमा समायोजन भएका दरबन्दीका कर्मचारी आठ सय ८७ जना भएपनि अहिले पदपूर्ति भने दुई सय ९६ जना मात्रै छन्।

‘दरबन्दीको एक तिहाई जनशक्तिको मात्रै पदपूर्ति छ कर्णालीमा’, निर्देशक डा खड्काले भने, ‘अस्थायी, करार लगायतबाट आउनुभएका स्वास्थ्यकर्मी त हुनुहुन्छ तर, आईसीयू र भेन्टिलेटर चलाउने प्राविधिक जनशक्ति भनेको प्रदेश अस्पतालमा दुई जना र जुम्लामा दुई जना गरेर चार जना मात्रै हुनुहुन्छ।’

जनशक्तिकै अभावले जिल्लास्थित अस्पतालहरुमा समस्या भइरहेको बताए। कर्णालीमा कर्मचारी आउन नमान्दा समेत भर्ना लिए पनि नआउने अवस्था रहेको उनी बताउँछन्।

‘गत वर्ष विशेषज्ञ सेवाका लागि चिकित्सकको भर्ना गर्ने भनेर आह्वान गरियो तर, दरखास्त नै पर्दैन, अहिले झन् चारै तिर कोभिडले समस्यामा पारेको छ, त्यसो भएर पनि विशेषज्ञ चिकित्सक र प्राविधिक जनशक्ति आउने सम्भावना एकदमै कम छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell