PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

वीरगंजका अस्पतालमा अक्सिजन अभाव, उद्योगका मजदुर संक्रमणको जोखिममा



राधेश्याम पटेल

वीरगंजका अस्पतालमा अक्सिजन अभाव, उद्योगका मजदुर संक्रमणको जोखिममा

वीरगंज : वीरगंजका विभिन्न अस्पतालमा अक्सिजनको अभाव शुरु भएको छ। कोरोना संक्रमितको चाप बढ्न थालेको र हरेक अस्पतालमा खपत बढ्न थालेपछि अक्सिजनको अभाव शुरु भएको अस्पतालहरुले जनाएका छन्।

वीरगंज हेल्थकेयर अस्पतालका सञ्चालक डा अबुलहैस अन्सारीका अनुसार वीरगंजमा केही दिनयता अक्सिजनको अभाव भएको छ। उनको आफ्नै अक्सिजन प्लान्ट रहे तापनि आफनो अस्पताल र अन्य दुई अस्पतालको लागि अक्सिजन पर्याप्त मात्रामा उत्पादन हुन नसकेको बताए।

‘दैनिक अस्पतालहरुमा अक्सिजनको खपत बढेको छ, उत्पादन पुरानै अवस्थामा छ, त्यसैले अभाव सिर्जना हुँदै गएको हो’, उनले भने, ‘अक्सिजन उपयुक्त बिरामीलाई मात्र दिइनु पर्छ, कतिपय अस्पतालमा बिरामीका कुरुवाहरुले ५/५ वटा सिलिन्डर कब्जा गरेर राखेकोले पनि अक्सिजनको अभाव देखिएको छ।’

वीरगंजमा अहिले नारायणी अस्पताल, नेशनल मेडिकल कलेज, वयोधा अस्पताल, तराई अस्पताल, एडभान्स अस्पताल, वीरगंज हेल्थकेयर, गण्डक, इन्डोनेपाल, एलएस न्यूरो अस्पताल, अली अर्थो ट्रमा सेन्टर, अपोलो अर्थो ट्रमा सेन्टरलगायत एक दर्जनभन्दा बढी अस्पतालहरु सञ्चालन छन्। तर, वीरगंजमा तीन वटा मात्रै अक्सिजन प्लान्टहरु रहेका छन्।

नेपालकै पुरानो अक्सिजन प्लान्ट परवानीपुरमा ज्योति समूहको हिमाल अक्सिजन प्रालि सञ्चालनमा छ। २४ घण्टामा दैनिक ६ सय सिलिन्डर क्षमता रहेको उक्त उद्योग अहिले पूर्ण रुपमा सञ्चालनमा छ। तर, बजारको मागलाई धान्न नसकेको कर्मचारीहरुले बताएका छन्।

त्यसैगरी, वीरगंज हेल्थकेयर हस्पिटलका सञ्चालक डा अबुलहैस अन्सारीले नेशनल अक्सिजन प्रालि बहुअरी वीरगंजबाट पनि अक्सिजन उत्पादन गरिरहेका छन्। उनका अनुसार पहिले २४ घण्टामा ५ सय सिलिन्डर बिक्री हुन्थ्यो भने अहिले दैनिक एक हजार सिलिन्डर उत्पादन गरे पनि अभाव टर्न सकेको छैन।

त्यसैगरी, परवानीपुर प्रहरी चौकी नजिकै रामबाबू रौनियार सञ्चालक रहेको मधु अक्सिजन प्रालिले पनि दैनिक ६ सय सिलिन्डर उत्पादन गरिरहेको छ। दैनिक ८ सय सिलिन्डरको माग रहेता पनि कर्मचारी र सिलिन्डरको अभावको कारण ६ सय सिलिन्डर मात्र उत्पादन भइरहेको रौनियारले बताए। उनका अनुसार अक्सिजन सिलिन्डर समयमा अस्पतालबाट फिर्ता नआएको कारण पनि सिलिन्डर फिलिङमा समस्या भइरहेको छ।

प्रजिअ भन्छन्- बाहिर पठाएपछि अभाव सिर्जना

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले वीरगंज कोरिडोरका उद्योगहरुले पर्सा-बारा बाहेकका जिल्लाका अस्पतालमा अक्सिजन पठाउन थालेपछि समस्या उत्पन्न भइरहेको बताए।

‘मैले पनि सुनिरहेको छु, अक्सिजन हेटौँडा, भरतपुर, बुटवल, भैरहवा, जनकपुर गइरहेको छ’, उनले भने, ‘मिटिङ राखेर सहज आपूर्तीको व्यवस्थापन मिलाउँछु।’

अक्सिजन उद्योगका मजदुर झनै त्रसित र जोखिममा

अक्सिजन उद्योगका कर्मचारी तथा मजदुर त्रसित बनेका छन्। उनीहरुले स्वास्थ्य मापदण्डको पालना गरे तपानि केही उद्योगका कर्मचारी बिरामी परेपछि उनीहरु पनि त्रसित बनेका हुन्।

हिमाल अक्सिजन प्रालिका केही कर्मचारी बिरामी परेर होम ओइसोलेसनमा छन्। अस्पतालमा अक्सिजन ढुवानी गरेर लैजादा अस्पतालले उद्योग कर्मचारीको स्वास्थ्यको ध्यान नदिँदा र आईसीयू कक्षबाट पनि सिलिन्डर फिर्ता ल्याउँदा उद्योगका कर्मचारीमा कोरोना संक्रमण फैलिने त्रास बढेको उनीहरुको भनाइ छ।

अस्पतालले अक्सिजन ओसारपसार गर्ने कर्मचारी पर्याप्त मात्रामा नखटाएको र अक्सिजन उद्योगकै कर्मचारीमाथि अक्सिजन ओसारपसार गर्ने जिम्मेवारी थपेकोले उनीहरु त्रसित बनेका हुन्। उद्योगका कर्मचारीहरुलाई अस्पतालले कुनै प्रकारको स्वास्थ्य सुरक्षा उपकरण उपलब्ध नगराउँदा संक्रमित हुने सम्भावना बढेको उद्योग प्रशासनको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell