इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड लेस्टरसिटीसँग पराजित भएको छ। लिग तालिकाको दोस्रो स्थानमा रहेको युनाइटेडले हार ब्यहोरेसँगै शीर्षस्थानको म्यानचेस्टर सिटीले लिगको उपाधि सुरक्षित गरेको छ।
ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा लेस्टर सिटीले घरेलु टोली म्यानचेस्टर युनाइटेडमाथि १-२ गोलअन्तरले जित निकालेको थियो। लुक थोमसको गोलमा खेलको १० औं मिनेटमा नै लेस्टरले अग्रता बनाए पनि १५ औं मिनेटमा नै युनाइटेड म्यासन ग्रिनउडले गोल गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ १-१ को बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा लेस्टरको जितका लागि काग्लर सोयुञ्चुले निर्णायक गोल गरे। उनले खेलको ६६ औं मिनेटमा गरेको गोल नै लेस्टरलाई जित दिलाउन र म्यानचेस्टर सिटीलाई च्याम्पियन बनाउन पर्याप्त रह्यो।
जितसँगै लेस्टर ३६ खेलबाट ६६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ। दोस्रो स्थानमा समान खेलबाट ७० अंक जोडेको म्यानचेस्टर युनाइटेड छ। त्यस्तै ८० अंक जोडेको शीर्ष स्थानको सिटीले उपाधि सुरक्षित गरेको हो। पछिल्ला चार सिजनमा सिटीले यो तेस्रो पटक लिगको उपाधि जितेको हो।
