काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण गर्न नहुने तर्क गरेका छन्।
माधव कुमार नेपाल समूहका दोस्रो तहका नेताले एमालेमै रहेर एकताको प्रयास गर्नुपर्ने भन्दै सक्रिय भइरहेको बेला भुसालको यस्तो धारणा आएको हो।
नेपाल समूहले वैशाख २७ गते ओलीले प्रतिनिधिसभामा लिएको विश्वासको मतमा अनुपस्थिति जनाएको थियो। सामूहिक राजीनामाकै तयारी गरिएको भए पनि दोस्रो तहका नेताहरुले सामूहिक राजीनामालाई रोकेका थिए। भुसालले नेपाल र झलनाथ खनाललाई गाली गरेर एमाले विभाजित गर्न लागिएको बताएका छन्। फेसबुक मार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै भुसालले फेरि पनि प्रतिनिधिसभा विघटनको षड्यन्त्र भइरहेको दावी गरेका छन्।
'हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो। आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ,' उनले भनेका छन्, 'आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन।'
एमालेमै रहने या नयाँ पार्टी दर्ता गर्ने भन्ने आन्तरिक aहसमा रहेको नेपाल समूह अलमलमा देखिएको छ। भुसालले भने आत्मसमर्पण गर्न नहुने तर्क गरेका हुन्।
'विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ,' उनको भनाई छ।
हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा...
Posted by Ghanashyam Bhusal on Tuesday, May 11, 2021
