PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपालको राजनीतिमा दिल्लीको छायाँ : मिडियामार्फत् स्थापित हुँदै भाजपा लाइन



पहिलोपोस्ट

नेपालको राजनीतिमा दिल्लीको छायाँ : मिडियामार्फत् स्थापित हुँदै भाजपा लाइन

काठमाडौं : नेपालको सत्ता समीकरणमा भारतीय संस्थापन पक्षको चासोलाई भारतीय मिडियाले प्राथमिकताका साथ सार्वजनिक गरेका छन्। भारतीय संस्थापन पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेको दावीसहित हिन्दुस्तान टाइम्सले नेपालको राजनीतिक अवस्थामाथि सम्पादकीय नै लेखेर खुलासा गरेको हो। 

मंगलवार मात्र भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले नेपालमा भारतीय संस्थापन पक्ष प्रधानमन्त्रीको रुपमा ओलीलाई देख्न चाहेको लेखेको छ। सम्पादकीयमा नेपालमा राजनीतिक संकट नसकिएको भन्दै नयाँ दिल्लीको ओलीलाई अझै समर्थन रहेको दाबी गरिएको छ।  

त्यसो त हिजैमात्र भारतीय जनता पार्टी (भाजपा) नेता सुब्रमण्यम स्वामीले भारतीय सत्ता नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेको सामाजिक सञ्जाल ट्वीटरमा लेखेका थिए। 

भाजपाका वरिष्ठ नेता एवम् राज्यसभा सांसदसमेत रहेका स्वामीले ओली भारतको ‘रोजाइ’ भएको पनि बताएका हुन्। प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले पेश गरेको विश्वासको मतको प्रस्ताव असफल भए पछि उनले यस्तो टिप्पणी गरेका हुन्। साथै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भए भने चीनको जीत हुने पनि स्वामीले उल्लेख गरेका छन्।

स्वामीको ट्विटलाई नेपालमा 'हल्का' रुपमा लिइएको भए पनि सँगैसँगै आएको हिन्दुस्तान टाइम्सको सम्पादकीयले उनको भनाइलाई स्थापित गर्ने खोजेको देखिन्छ। स्वामी ट्विट गरेर चुप बसेका छैनन् उनले नेपालीले दिएका प्रतिक्रियाको पनि जवाफ लेखिरहेका छन्। २०४५ सालको आन्दोलनदेखि राजा विरेन्द्रसम्म जोडेर आफ्नो कुरा स्थपित गर्न खोजेका छन्।

नेपालको राजनीतिक अवस्था र कोरोनाको कहरलाई लिएर भारतीय मिडियामात्र जोडिएको छैन, पश्चिमा मिडियामा पनि विषय उठान भएको छ।

नेपालमा कोभिड-१९ को भयावह अवस्था आउँदा प्रधानमन्त्री ओलीले गार्जियनमा लेख लेख्दै नेपाललाई सहयोग गर्न अनुरोध गरेका थिए। भारतले आन्तरिक अभावका कारण खोप आपूर्ति नगर्दा नेपालको खोप अभियान अगाडि बढ्न सकेको छैन। प्रधानमन्त्रीको लेखमात्र होइन, नेपालमा कोरोनाको संक्रमणमा ओली सरकारको लाचारी र कमजोरीका विषयमा पनि गार्जियनमा सामग्री प्रकाशित भएको छ। सीएनएनमा पनि प्रधानमन्त्रीको अन्तर्वार्तासहित रिपोर्ट आएको थियो।  

हिन्दुस्तान टाइम्सको सम्पादकीयमा भारतको समर्थन जसपाको विभाजनमा पनि रहेको उल्लेख छ। त्यस्तै देउवा पनि यस अवस्थामा सरकारको नेतृत्वमा जान नचाहेको खुलासा गरिएको छ। सम्पादकीयमा कोभिड-१९ को व्यवस्थापनको सवालमा भने ओली गैर जिम्मेवारपूर्ण रहेको पनि उल्लेख छ। साथै उनी आन्तरिक राजनीतिमा अप्रजातान्त्रिक र अल्पसंख्यकको सवालमा भेदभावपूर्ण रहेको उल्लेख  छ। 

सम्पादकीयमा दिल्ली नेपालको आन्तरिक मामिलामा पछि हट्नुपर्ने र प्रजातान्त्रिक प्रणालीलाई सहयोग गर्नुपर्ने उल्लेख गर्दै नयाँ सरकारलाई समर्थन गर्दै आफ्नो नजिकको छिमेकीलाई सहयोग गर्नुपर्ने उल्लेख छ। 

भारत विरोधी अभिव्यक्ति दिँदै राष्ट्रवादी छवि बनाएका ओलीलाई अहिले भारतीय संस्थापन पक्षले समर्थन गरिरहेको छ। अर्को तर्फ उनी आफ्नो पद जोगाउन भारतीय संस्थापन पक्षसँग अनुरोध गर्दै आएका छन्। 'रअ' प्रमुख सामान्त गोयलसँगको गोप्य भेट अहिलेसम्म बाहिर आएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell