PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नारायणी अस्पतालमा पनि शय्या र स्वास्थ्यकर्मी अभाव : संक्रमितको रेफरबाहेक मृत्युमात्रै विकल्प



राधेश्याम पटेल

नारायणी अस्पतालमा पनि शय्या र स्वास्थ्यकर्मी अभाव : संक्रमितको रेफरबाहेक मृत्युमात्रै विकल्प

वीरगंज : नारायणी अस्पतालमा कोभिड-१९ संक्रमितले बेड नपाउने अवस्था आएको छ। १२५ बेड क्षमताको कोभिड अस्पतालमा लगभग सबै बेड भरिएकाले अब भर्ना हुन आउने संक्रमितले बेड नपाउने अवस्था आएको अस्पतालका कोभिड फोकल पर्सन डा. सरोजरोशन दासले जानकारी गराए।

उनले भने, ‘बुधवार सम्म ८ जना डिस्चार्ज र १० जना भर्ना भएका छन्। अब नारायणीमा ८० पुरुष र ३७ महिला गरी कुल ११७ जना संक्रमितको उपचार भइरहेको छ।’ संक्रमितलाई राखेर उपचार गर्ने ठाउँ र जनशक्ति नभएकोले उपचारमा जटिलता थपिएको डाक्‍टर दासको भनाइ छ।

उनका अनुसार नारायणीको आईसीयूमा ५५ पुरुषसहित ७५ जना, एचडियूमा २८ पुरुषसहित ४२ जना र भेन्टिलेटरमा १० जना गरी कुल ११७ जनाको उपचार भइरहेको छ। उनले संक्रमितको मृत्यु भयो वा रेफर भएर अन्यत्रै लगिएको खण्डमा मात्र बेड पाउने सम्भावना रहेको बताए। थप २० बेडको अर्को कोठामा जनशक्ति अभावको कारण उपचार शुरु गर्न नसकिएको डाक्टर दासले बताए।

संक्रमितको उपचारमा २६ कर्मचारी

नारायणी अस्पतालमा दक्ष जनशक्तिको अभावका कारण उपचारमा समस्या भइरहेको बताइएको छ। अस्पतालका निमित्त मेसु डा. एनामुल हकका अनुसार हाल कोभिड वार्ड सञ्चालनमा एक साताका लागि १० जना डाक्टर, १६ जना स्वास्थ्यकर्मी (स्टाफ नर्स, अनमी, अहेब) र ४ जना कार्यालय सहयोगी गरी करिब ३० जना कर्मचारीलाई १२/१२ घण्टाको डियुटी बाँडेर उपचार भइरहेको छ।

त्यसैगरी, प्रसूति सेवा (शल्यक्रियासहित) डायालासिस, एनआईसीयू, सर्जिकल र मेडिकल विभाग छुट्टाछुटै सञ्चालनमा छ। यसरी करिब ५० जना कर्मचारी अभाव रहेको अस्पतालले जनाएको छ। अस्पतालले प्रदेश र केन्द्र सरकारसँग कर्मचारी आपूर्ति गर्न माग गरेको छ।

प्रदेश २ ले दियो पर्सामा ३२ कर्मचारी

प्रदेश २ सरकारले कोरोनाको हटस्पट बनेको पर्साको लागि ३२ जना कर्मचारी पठाएको छ। नारायणी अस्पतालमा कन्सल्टेन्ट एनेस्थेसिया अधिकृत नवौं तहको १ जना, मेडिकल अधिकृत आठौं ५ जना, स्टाफ नर्स ८ जना, एनेस्थेसिया असिस्टेन्ट १ जना, ल्याब टेक्नोलोजिस्ट १ जना, ल्याब असिस्टेन्ट १ जना र स्वीपर २ जना गरी १९ जना कर्मचारी दिएको छ भने पोखरिया अस्पतालमा मेडिकल अधिकृत आठौं २ जना, स्टाफ नर्स ६ जना, रेडियो ग्राफर १ जना, एनेस्थेसिया टेक्नोलोजिष्ट १ जना, ल्याब असिस्टेन्ट १ जना र स्वीपर २ जना गरी १३ जना पठाइने प्रदेश सरकारले जनाएको छ।

कर्मचारी अभावमा कुरुवाले भीडभाड

नारायणी अस्पतालमा कर्मचारी अभाव नभएपछि कुरुवाहरुको भीडभाड बढ्न थालेको छ। एउटा संक्रमितको बेड नजिकै १–२ जना कुरुवा भीडभाड गर्ने गरेको हुँदा उपचारमा समस्या भइरहको चिकित्सकहरुले बताएका छन्।

‘कर्मचारी कम छन्, कुरुवालाई हटाइयो भने समयमा अक्सिजन हेर्ने मान्छे हुँदैछ, त्यसकारण कुरुवा हटाउन सकिएको छैन,’ नारायणी अस्पतालका निमित्त मेसु डा. एनामुल हकले भने, ‘तर उनीहरुको भीडभाडले समस्या बल्झिदै गएको छ। कोही अक्सिजन सिलिन्डरको लागि मारामार गर्छन, त कोही श्वास चलेन भनेर डाक्टरलाई कराउन र गाली गलौज पनि गर्छन।’

अस्पतालमा कर्मचारी व्यवस्थापनको लागि तयारी भइरहेको र केही दिनमा कर्मचारी पर्याप्त मात्रामा खटाएर संक्रमितको कुरुवालाई अस्पताल बाहिर गर्ने अस्पताल प्रशासनको तयारी रहेको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell