पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङ पुन: नियुक्त भएका छन्।
नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत (३१ सांसदको हस्ताक्षर) जुटाउन नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ३ अनुसार गुरुङलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्।
आजै पद तथा गोपनियताको सपथ लिन गुरुङ प्रदेश प्रमुख निवासमा पुगेका छन्। आइतबार मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी थिइन्।
प्रमुखले दिएको समयवधिभर बहुमतको सरकार बनाउन विपक्षी दलले कसरत गरेका थिए। तर जनमोर्चाका दुई सांसदले साथ नदिएपछि विपक्षीलाई धक्का पुगेको हो।
जनमोर्चाका सांसद कृष्ण थापा सुरुआत देखिनै काङ्ग्रेसलाई समर्थन नगर्ने बताइरहेका थिए। बुधबार विपक्षो गठबन्धनले बहुमतको दाबीसहित प्रमुख कार्यालयम पत्र बुझाएपछि सांसद खिमविक्रम शाहिले पनि आफ्नो समर्थन नरहेको जनाए। दुबै सांसद तटस्थ बसे।
गुरुङ मुख्यमन्त्री पदमा आज नियुक्त भए पनि उनले प्रदेशसभामा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ।
यता कृष्णचन्द्र नेपालीले भने मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जनाइसकेका छन् । उनले पहिलोपोष्टसँग कुरा गर्दै भनेका थिए, ‘सिनारियो दोहोरिन्छ।’