
बुटवल : रुपन्देहीमा पछिल्लो २४ घण्टामा आजसम्मकै सबैभन्दा बढी ९ सय ७ जना कोरोना संक्रमित भएका छन्। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्यांकमा जिल्लामा आज अहिले सम्मकै सबैभन्दा बढी संक्रमित देखिएका हुन्।
यस्तै मृत्यु हुनेको संख्या पनि आज अहिलेसम्मको उच्च रहेको छ। रुपन्देहीमा पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको छ। यससंगै जिल्लामा सक्रिय संक्रमितका संख्या ७ हजार २ जना पुगेको छ भने अहिले सम्म ३ सय ९ जनाको मृत्यु भएको छ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ४ जनाको आरटिपिसिआर परिक्षणबाट ९ सय ७ जना संक्रमित देखिएका हुन्। यो भनेको जाँच गरेका मध्ये ७५ प्रतिशतको नतिजा पोजिटिभ आएको हो। बुटवल उपमहानगर पालिकामा सबै भन्दा बढी १९० जना महिला र २०५ जना पुरुष गरि ३ सय ९५ जना संक्रमित भएका छन्।
यस्तै तिलोत्तमा नगरपालिकामा ८९ महिला र ८५ पुरुष गरि १ सय ७४ जना, सिद्धार्थनगर नगर पालिकामा ४३ महिला र ५९ पुरुष गरि १ सय २ जना, ओमसतिया गाउँपालिकामा ५ जना महिला र ९ जना पुरुष गरि १४ जना, देवदह नगरपालिकामा २९ जना महिला र ५८ जना पुरुष गरि ८७ जना रहेका छन्। यस्तै सैनामैना नगरपालिकामा १८ जना महिला र ४१ जना पुरुष गरि ५९ जना, मायादेवी गाउँपालिकामा ५ महिला र ४ पुरुष गरि ९ जना संक्रमित भएका छन्।
रुपन्देहीमा संक्रमणमा परि मृत्यु हुनेमा २ प्रतिशत मात्र रहेका छन्। अहिले जिल्लामा ३५ प्रतिशत सक्रिय संक्रमित र ६३ प्रतिशत निको भएको स्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ। जिल्लामा अहिले सक्रिय संक्रमित मध्ये ३ सय ७६ जना लक्षण सहितका संक्रमित रहेको र उनिीहरुको विभिन्न पालिकामा रहेको आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ। यस्तै अन्य ६ हजार ६ सय २६ जना होम आइसोलेसनमा छन्।